आइतवार, बैशाख २०, २०८३

भिडियोमा विपिन भन्छन् – म नेपाली हुँ, यहाँ आएको २५ दिन भएको छ

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनी विद्राेही समूह हमासकाे अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक गरिएको छ । इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज उनको परिवारको अनुमतिमा बुधबार सार्वजनिक गरिएको हो ।

यो भिडियो जोशीको अपहरणपछिको दुई वर्षमा जीवित अवस्थाको पहिलो प्रमाणका रूपमा मानिएकाे छ । तर भिडियो धेरै पहिले रेकर्ड गरिएकाले अहिले उनको अवस्था के छ भन्नेबारे स्पष्ट जानकारी छैन ।

इजरायली सञ्चारमाध्यमका अनुसार यो भिडियो धेरै पहिले प्राप्त भए पनि परिवारको अनुमति पाएपछि मात्र अहिले सार्वजनिक गरिएको हो । भिडियोमा विपिनले भनेका छन्,  ‘मेरो नाम विपिन जोशी हो, म नेपालबाट आएको हुँ । मेरो उमेर २३ वर्ष भएको छ । म यहाँ ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ । म यहाँ आएको २५ दिन भएको छ ।’

विपिनकी दिदी पुष्पा जोशी ले द जेरुसेलम पोस्टसँग कुरा गर्दै भनेकी छन् कि यो भिडियो अहिले सार्वजनिक गर्नुको उद्देश्य सम्भावित बन्धक सम्झौता अघि बढाउन मद्दत पुर्‍याउनु हो ।

हाल पुष्पा अमेरिकामा छिन् र दाइको मुक्तिका लागि सक्रिय अभियान चलाइरहेकी छिन् । उनले वाशिङ्टन डीसी र न्युयोर्कमा आफ्नो बसाइ लम्ब्याउँदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सँग भेट गर्न प्रयासरत रहेको बताएकी छन् ।

उनले भनिन्, ‘हामी आशावादी मन लिएर यहाँ आएका छौँ । हामी राष्ट्रपति ट्रम्पसँग भेटेर विपिनको सुरक्षित रिहाइका लागि आग्रह गर्न चाहन्छौँ ।’