धनगढी: कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका मिलन विष्ट मङ्गलवार साँझ अत्तरियाको सुप्रिया स्टोरमा पुगे। उनी टोपी (क्याप) खरिदका लागि पसलमा गएका थिए।
अत्तरियाको सुप्रिया स्टोरमा टोपीको मूल्य तीन सय ८० रुपैयाँ थियो। तर, विष्टले दुई सय ८० रुपैयाँ मात्र अनलाइन बैङ्किङमार्फत भुक्तानी दिए। उनीहरूको बिचमा एक सय रुपैयाँका लागि भनाभन भयो।
उनीहरूको बिचमा भएको भनाभन झगडामा परिणत भयो। विष्टले एक सय थप भुक्तानी गर्न नमानेपछि भनाभन भएको प्रहरीले बताएको छ। यता, विष्टले सुप्रिया स्टोरका सञ्चालकले रुखो बोलेर गाली गलौज गरेपछि विवाद भएको बताएका छन्। विष्टले भने, ‘एक सय रुपैयाँ थप रकम पठाउदै थिए। तर, उहाँहरूले गाली गर्नु भयो। मैले पैसा फिर्ता मागे दिनु भएन। भिडिओ खिचे, उहाँहरूले केटाहरु बोलाउनु भयो। चार/पाँच जना केटाहरुले घेरे। एकले मलाई हान्यो। मलाई हातपात गरेको दृश्य उहाँहरुको सिसिटिभी क्यामेरामा पनि होला। प्रहरी पनि बोलाउनु भयो।’
इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख रणबहादुर चन्दले उनीहरूको बिचको लफडा प्रहरीमा पुगेको बताए। उनले भने, ‘तीन सय ८० रुपैयाँ हाल्नु पर्नेमा २ सय ८० मात्र हालेपछि विवाद भएको रहेछ। टोपी खरिद गर्न पसलमा गएका बिष्टजीले यसरी नै व्यापार गर्ने हो तिमीले भनेपछि विवाद भएको रहेछ। बुढा मान्छेलाई “तिमी” भनेर सम्बोधन गर्दा भनाभन भएछ। विष्ट जीले मापसे पनि गर्नु भएको थियो। हामीले पनि बियरमा पैसा घटाउनु भयो कि भएन, भनेर सोधेका थियौँ। उहाँले बियरमा नघटाएको बताउनु भएको थियो। तर, टोपीमा घटाएपछि विवाद आएको हो।’ उनले खिचेको भिडिओ प्रहरीले डिलिट गरेको चन्दले बताए।
भिडियो डिलिट गर्नुपूर्व नै विष्टले टिकटकमा भिडिओ हालेको फेला परेपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरुलाई दोस्रो पटक बोलाइएको प्रहरीले जनाएको छ।
तर बिष्ट भने मङ्गलवार साँझ नै प्रहरीले सुप्रिया स्टोरबाट पाँच सय रुपैयाँ लगेर जबरजस्ती भिडिओ डिलिट गर्न लगाएको आरोप लगाएका छन् । तर, इलाका प्रहरी कार्यालय, मालाखेतीले उनीहरुको बिचको समजदारीमा भिडिओ डिलिट गरिएको दाबी गरेको छ। विष्टले भने ‘प्रहरीले तुच्छ व्यभार गरेको आरोप लगाएका छन्। उनले भने, “प्रहरीले मसँग तुच्छ व्यवहार गरेको छ। प्रहरीले मलाई भित्र हाल्छु भन्ने धम्की दियो। मिलापत्रको कागजमा हस्ताक्षर गराउनु भयो। उहाँहरु मलाई फोन गरेर बोलाउँदै हुनुहुन्छ।”