शनिबार, बैशाख १९, २०८३

संसद् पुनर्स्थापना जेन्जी पुस्ताका लागि पनि फलदायी हुनसक्छ : सभामुख घिमिरे

काठमाडौं- सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापना जेनजीका लागि पनि फलदायी हुने निष्कर्ष निकालेका छन् ।

कानुन व्यावसायी, राजनीतिक दलका नेताहरू, संविधान र कानुनका जानकारहरूसँग निरन्तर संवादमा रहेका सभामुख घिमिरेले यस्तो निष्कर्ष निकालेका हुन् ।

सभामुख घिमिरेले बिहीबार पूर्वमहान्यायाधिवक्ताहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीसँग अलग-अलग छलफल गरे । बुधबार राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको अवस्थामा सभामुखले संवैधानिक, राजनीतिक तथा व्यावहारिक दृष्टिकोणहरू बनाउन पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग-अलग छलफल गरेका हुन् ।

छलफलका क्रममा उनले आफूले विगतको अभ्यासका आधारमा संविधानको परिधिभित्र रहँदै लोकतान्त्रिक मर्यादामा रहेर निर्णय लिने बताएका छन् ।

सभामुखको सचिवालयका अनुसार उनले भनेका छन्, ‘संसद् पुनर्स्थापना भयो भने वर्तमान जनादेशलाई निरन्तरता दिँदै तत्कालै जेनजी पुस्ताको माग तथा राजनीतिक, सामाजिक र सुशासनका एजेन्डाहरू संसद् र सरकारमार्फत संवैधानिक विधिबाटै सम्बोधन गर्न सकिने अवस्था सिर्जना हुन्छ ।’

संविधानअनुसार नयाँ निर्वाचन सम्पन्न नगरेसम्म कार्यकारी र विधायिकाको पुनर्संरचना सम्भव हुँदैन भन्ने सभामुखको निष्कर्ष छ । यसपछि मात्रै संविधान संशोधनको प्रक्रिया प्रारम्भ हुनसक्ने र यो दीर्घकालीन प्रक्रिया भएको उनको बुझाइ छ ।