धनगढी: सुदूरपश्चिम प्रदेशमा दिपावली, छठपर्व तथा आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था सुदृढ पार्ने तयारी गरिएको छ। आईतबार मुख्यमन्त्री निवासमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै प्रदेशभर एकीकृत सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री श्री कमल बहादुर शाहको विशेष उपस्थिती रहेको थियो भने बैठकको संयोजन आन्तरिक मामिला तथा कानून मन्त्री श्री हीरा साकीले गरेका थिए। बैठकले आगामी २०७९ साल फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार गर्ने र आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यस्तै, दिपावली र छठ पर्वका अवसरमा भारत जाने र आउने नागरिकहरूको सुरक्षालाई सहज बनाउन, सीमाक्षेत्रका मुख्य नाकाहरूमा एकीकृत सुरक्षा जाँचको व्यवस्था मिलाइने भएको छ। यस अवधिमा हुन सक्ने लुटपाट, चोरी, र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायले संयुक्त रूपमा निगरानी गर्ने तयारी गरिएको छ। लागुऔषधको बिक्री, वितरण तथा ओसार–प्रसारमा नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच संयुक्त रणनीति तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न शुरक्षा निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री कमल बहादुर शाहले बताए । त्यस्तै, पर्वका समयमा बजारमा हुन सक्ने मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद नाघेका खाद्यवस्तुहरूको बिक्री लगायतका गतिविधि रोक्न सम्बन्धित निकायलाई अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन निर्देशन दिइएको छ।