कैलालीको बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिकामा दुर्घटना भएको छ । लम्की चुहाको धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ९ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको परिचय खुल्ने कार्य जारी रहेको बताइएको छ । प्रहरीका अनुसार ट्याक्टरमा मलामी लिएर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित हुँदा ट्याक्टर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।