बिहिबार, बैशाख १७, २०८३

राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

महेन्द्रनगरस् राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि गरिएको छ । जोशीको आज महाकाली नदीमा अन्तिम संस्कार गरिएको हो । जोशीको पार्थिव शरिरमा उनका पिता मानन्द जोशी र ठूलोबुबाको छोरा किशोर जोशी लगाएतले दागबत्ति दिएका छन् । जोशीको शवयात्रामा हजारौं स्थानीयको सहभागिता रहेको थियो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी थिए । जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको छ । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका विपिनको शव सोमबार बेलुकी अर्थात् लक्ष्मीपूजाको साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका( ३ मा रहेको निवासमा पुर्‍याइएको थियो । एकरात निवासमै शव राखेर आज अन्तिम संस्कार गरिएको छ ।

इजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत घरमा ल्याइएको हो । यस वर्षको दीपावली अर्थात् लक्ष्मीपूजाकै दिन विपिनको शव घर पुगेसँगै गाउँटोल शोकमय भएको छ । विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।

०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको थियो । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको थियो भने विपिन बेपत्ता थिए ।