बिहिबार, बैशाख १७, २०८३

एनएसपिएलमा सुदूरपश्चिमबाट भिड्दै खप्तड सुदूरपश्चिम थन्डर

अत्तरिया– काठमाण्डौमा यही कार्तिक १५ गतेदेखी सञ्चालन हुन लागेको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्ने भएको छ । देशभरका ७ वटा प्रदेशहरुबाट आउने ७ वटा टोलीहरुमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डरले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।

खप्तड सुदूरपश्चिम थन्डरका टीम मालिक अरुण भण्डारीले प्रतियोगितामा आफ्नो टिमले प्रतिष्पर्धा गर्न लागेको जानकारी दिए । मंगलबार कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको ग्रिन गोदावरी रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देशमै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर भिड्ने बताए । ‘देशभरबाट ७ वटा टीमहरु प्रतियोगितामा भिड्नेछन्, जसमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डर रहेको छ’ उनले भने ‘प्रतियोगितामा सुदूरपश्चिमलाई हामीले प्रतिनिधित्व गरिरहेका छौ, सबैको साथ र सहयोगको अपेक्षा लिएका छौ ।’

टेनिस बलबाट खेलाईने टि–१० फम्र्याटको सो प्रतियोगिता देशमै पहिलो पटक आयोजना हुन गैरहेको छ । काठमाण्डौको डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. ले आयोजना गर्न लागेको सो प्रतियोगितामा सहभागिता जनाउने टिमहरुले केही दिन अघि मात्रै अक्सन मार्फत खेलाडीहरु खरिद गरेका छन् । खप्तड सुदूरपश्चिम थन्डरका मालिक भण्डारीले अक्सनमार्फत आफूहरुले सन्तुलित टिम निर्माण गरेको बताए । उनले सुदूरपश्चिमको टिममा सुदूरपश्चिमकै खेलाडीहरुको बर्चश्व रहेको समेत बताए । ‘हामीले टिममा अक्सनमार्फत सुदूरपश्चिमकै खेलाडीहरु खरिद गरेका छौ’ उनले भने ‘१६ जना को फुल स्क्वाडमा १२ जना खेलाडी सुदूरपश्चिमका छन, जसले यहाँका टेनिस बल खेलाडीहरुको खेलप्रतिको मनोबल पनि बढाएको छ ।’

खप्तड सुदूरपश्चिमको टिम मेनेजरका रुपमा बिक्रम बिष्ट रहेका छन भने ब्रान्ड एम्बेसडरका रुपमा साईकल यात्री भरत बिक्रम शाह रहेका छन् । खप्तड सुदूरपश्चिम थन्डरको मार्कि प्लेयरका रुपमा राष्ट्रिय टोलीका पुर्व खेलाडी मेहबुब आलम रहेका छन् । भण्डारीले देशभरका विभिन्न गल्ली तथा टोलहरुमा टेनिस बलबाट क्रिकेट खेलिने गरेको भएपनि व्यवसायीक नहुँदा समस्या हुने गरेकोमा प्रतियोगिताले टेनिस बलबाट क्रिकेट खेल्ने खेलाडीहरुमा नयाँ उत्साह थपेको बताए । उनले गल्लीमा क्रिकेट खेल्ने खेलाडीहरुले स्टेडियममा पुगेर क्रिकेट खेल्न पाउनु गौरवको कुरा भएको बताए । उनले प्रतियोगिताका कारण आउँदा दिनमा क्रिकेट खेलाडीहरु बढी उत्पादन हुने समेत विश्वास व्यक्त गरे ।

कार्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता काठमाण्डौस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा खप्तड सुदूरपश्चिम थन्डरले अक्सन मार्फत ७ लाख ३५ हजारमा खेलाडीहरु खरिद गरेको छ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुने प्रतियोगितामा शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।