बिहिबार, बैशाख १७, २०८३

गोदावरी नगरपालिकाले दिपावलीमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिकाले हिन्दूहरूको दोस्रो महान् पर्व दिपावली (तिहार) को अवसरमा नगरवासीका लागि नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नगर प्रमुख विरन्द्र भट्टले हस्ताक्षरित सूचनाअनुसार, स्थानीयवासीहरूको सहज आवागमनका लागि आगामी २०८१ साल कार्तिक ६ गते (भाइटीका) को दिनदेखि तीन रुटमा ११ वटा नि:शुल्क बसहरू सञ्चालन हुने भएका छन्।

बस सेवा अत्तरिया चोकदेखि धनगढीसम्म, अत्तरिया चोकदेखि चौमाला बजारसम्म र अत्तरिया चोकदेखि ओलीगाउँ गोडी बजारसम्म गरी तीन मुख्य रुटमा सञ्चालन गरिने जनाइएको छ। प्रत्येक रुटका बस बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म तोकिएका समयमा सञ्चालन हुनेछन्।

गोदावरी नगरपालिकाले यो सेवा नागरिकहरूलाई तिहारको भीडभाडमा सहज र सुरक्षित यात्राका लागि सहयोगी हुने उद्देश्यले गरेको बताएको छ। साथै, नगरपालिकाले नगरवासीहरूलाई उक्त सुविधाको उचित उपयोग गर्न आग्रह गरेको छ।

यसअघि पनि गोदावरी नगरपालिकाले बडादसैं, तिहार लगायतका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनमुखी सेवा सञ्चालन गर्दै आएको छ।