बिहिबार, बैशाख १७, २०८३

१४ बर्षअघि सचिव भएर काम गरेको मन्त्रालयकी मन्त्री बनिन् डा. सुधा

काठमाडौं– १४ बर्षअघि सचिव भएर काम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा डा. सुधा शर्मा गौतम पुगेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई आइतबार स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन्।

गौतमसँगै युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारीमा बब्लु गुप्ता नियुक्त हुँदै शपथ लिएका छन्।

चार जना मन्त्रीले शपथ लिने बताइए पनि तय भएका अन्य दुई जनाको विवादीत विषयमा सतहमा आएपछि गौतम र गुप्तालाई मात्र शपथ गराइएको हो।

शपथ लिएकी शर्मा प्रसुती तथा स्त्री रोग विशेषज्ञ पनि हुन्। उनी मौकामा आफ्ना अनुभवसहित हरेक पुस्ताका विषयमा राजनीति र स्वास्थ्यको अन्तरसम्बन्ध रहेको आलेख पनि प्रकाशित गरिरहन्छिन्।

डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भैसकेको छ।

उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन्।