धनगढी ।
कैलालीको गोदावरीमा ट्राफिक प्रहरीले सोमवार बिहानदेखि विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ। यात्रुवाहक सवारी साधनहरूको लामो लाइन र प्रहरीको बाक्लो उपस्थिति देखिँदा सुरक्षाकर्मीहरूले कुनै ठूलो सर्च अपरेशन सञ्चालन गरिरहेको दृश्य झैँ देखिएको थियो।
तर वास्तविकता फरक थियो— त्यो दृश्य ट्राफिक प्रहरीको लापासे (लागुपदार्थ सेवन) चेकजाँच अभियान थियो। चाडपर्व सकिएसँगै यात्रुवाहक सवारी साधनहरू यात्रुहरूले खचाखच भरिएका अवस्थामा गन्तव्यतर्फ हुइँकिरहेका बेला प्रहरी सडकमै एक्शनमा उत्रिएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र गोदावरी अस्थायी ट्राफिक प्रहरी पोष्टको संयुक्त टोलीले गोदावरी क्षेत्रमा गरिएको चेकजाँचका क्रममा ३७ जना सवारी चालक मध्ये ६ जनाले लापासे सेवन गरेको अवस्थामा सवारी चलाइरहेको भेटिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर देउवाले जानकारी दिए।
देउवाका अनुसार यो अभियान सुदूरपश्चिमका सातै पहाडी जिल्लातर्फ यात्रु लिएर गइरहेका सवारी साधनहरूमा केन्द्रित गरिएको हो।
“हाम्रो पहिलो प्राथमिकता सवारी दुर्घटना न्यूनीकरण गर्नु हो,” देउवाले भने, “सवारी धनीले पनि आफ्ना चालकको बानी व्यवहार र गतिविधि निगरानी गरी मात्रै सवारी सञ्चालन गर्न दिनुपर्छ।”

उनीका अनुसार पछिल्ला दिनहरूमा लापासे सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको पाइएको छ, जसले यात्रुको ज्यान नै जोखिममा पारिरहेको छ।
ट्राफिक प्रहरीले गरेको आजको चेकजाँचले सुदूरपश्चिमका पहाडी मार्गमा हुने जोखिमपूर्ण सवारी सञ्चालनको यथार्थ उजागर गरेको छ। प्रहरीका अनुसार आगामी दिनमा यस्ता चेकजाँच नियमित रूपमा सञ्चालन गरिने छ।

साथै, प्रहरी अधिकारीहरूले यस्ता सचेतना र निगरानी कार्यक्रमका लागि स्थानीय सरकारले आवश्यक बजेट र सामाग्री सहयोग गर्नुपर्ने सुझाव पनि दिएका छन्।