दिप श्रेष्ठ
धनगढी —
धनगढीमा पछिल्ला दिनमा प्रहरीले अनैतिक क्रियाकलापविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरेको छ। धनगढीका विभिन्न होटल र स्पामा यौन धन्दा चलिरहेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहको प्रत्यक्ष निर्देशनमा प्रहरीको विशेष अपरेसन सञ्चालन गरिएको हो।
प्रहरीका अनुसार, धनगढी–४ मिलनचोकस्थित सिगास होटल र जेनिस होटलमा छापा मार्दै १० जना (५ पुरुष र ५ महिला) लाई पक्राउ गरिएको छ।
डिएसपी सिंहले जानकारी दिँदै भने, “अनैतिक कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन। शून्य सहनशीलताको नीतिअनुसार कारबाही भइरहेको छ।”
पक्राउ परेकामाथि प्रारम्भिक अनुसन्धान जारी छ भने होटल सञ्चालकहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले हाल धनगढीका होटल, स्पा र मसाज सेन्टरहरूमा निगरानी कडा पार्दै अनैतिक कार्य रोक्न विशेष गस्ती सुरु गरेको छ। त्यसैगरी, ‘बदनाम गल्ली’ भनेर चिनिने दक्षिणकाली मार्गमा समेत प्रहरीको निगरानी तीव्र भएको छ।
उक्त क्षेत्रमा लामो समयदेखि अनैतिक गतिविधि भइरहेको भन्दै स्थानीयहरूले गुनासो गर्दै आएका थिए। सनराइज टेलिभिजनले दक्षिणकाली मार्गको अवस्थाबारे भिडियो सामग्री सार्वजनिक गरेपछि डिएसपी सिंहको निर्देशनमा प्रहरीले सो क्षेत्रमा सघन गस्ती सुरु गरेको हो।
हाल वडा प्रहरी कार्यालय धनगढी, चटकपुर प्रहरी, विशालनगर प्रहरी, बसपार्क प्रहरीले समेत दक्षिणकाली क्षेत्रमा कडा निगरानी गरि रहेका छन् ।
स्थानीयवासीका अनुसार, प्रहरीको सक्रियतापछि अहिले उक्त क्षेत्रमा शान्ति र सुरक्षाको वातावरण फर्किएको छ।
एक स्थानीयले भने, “पहिले राति हिँड्न डर लाग्थ्यो, अहिले प्रहरीको गस्तीले क्षेत्र नै सुरक्षित बनेको छ।”
डिएसपी सिंहको नेतृत्वमा सुरु गरिएको यो अभियानलाई धनगढीका बासिन्दाहरूले ‘अनैतिकतामाथि प्रहरीको दृढ प्रहार’ भन्दै स्वागत गरेका छन्।