धनगढी । कैलालीमा लागू औषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । खुला सिमाना र सहज पहुँचका कारण भारतबाट लागू औषध जिल्लामा भित्रिने क्रम नरोकिएकोपछि प्रयोगकर्ता बढ्ने क्रम बढिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा लागू औषध सम्बन्धी मुद्दामा ३४८ जना पक्राउ परेका थिए । त्यस पछिल्लो वर्ष २०८०/८१ मा ३१५ जना पक्राउ परेका भए पनि आर्थिक वर्ष २०८१/८२ मा पक्राउ पर्नेको सङ्ख्या बढेर ४६९ पुगेको छ। यसै गरी चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म मात्रै ६४ जना पक्राउ परेका छन्।
अहिले ‘ब्राउन सुगर’ लगायतका लागू पदार्थहरू युवाहरूका लागी बढी लोकप्रिय भएका छन्। विद्यालय र कलेज पढ्ने विद्यार्थीमा समेत यसको असर देखिन थालेको प्रहरीको भनाइ छ। प्रहरीले लागू औषध नियन्त्रणका लागि निगरानी बढाउने, विद्यालय स्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र पुनः स्थापना केन्द्रसँग सहकार्य गर्ने लगायत पक्राउ गर्ने गरिरहेको छ ।
यसैगरीे लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले बताए । उनले भने,मन्त्रालय अन्तर्गतको स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत “धूम्रपान नगरौँ, मद्यपान नगरौँ, लागू औषध प्रयोग नगरौँ”भन्ने नारासहितका सचेतना कार्यक्रम सञ्चालन भइरहेका थिए ।
तर पछिल्लो समय ‘जेनेरेसन जेड आन्दोलन’का कारण ती कार्यक्रमहरू प्रभावित भएको रेग्मीले बताए । ‘यो आर्थिक वर्षमा चलिरहेका स्वास्थ्य सचेतना कार्यक्रमहरू पनि आन्दोलनका कारण रोकिएका छन्, अहिले सम्म सुरु भएका छैनन् ।’उनले भने।
यमुना साउद, सुदूरपत्र