बिहिबार, बैशाख १७, २०८३

कैलालीमा लागू औषध प्रयोगकर्ता बढ्दै, सबैभन्दा बढी जेनेरेसन ‘जेड’ संलग्न

धनगढी । कैलालीमा लागू औषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । खुला सिमाना र सहज पहुँचका कारण भारतबाट लागू औषध जिल्लामा भित्रिने क्रम नरोकिएकोपछि प्रयोगकर्ता बढ्ने क्रम बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा लागू औषध सम्बन्धी मुद्दामा ३४८ जना पक्राउ परेका थिए । त्यस पछिल्लो वर्ष २०८०/८१ मा ३१५ जना पक्राउ परेका भए पनि आर्थिक वर्ष २०८१/८२ मा पक्राउ पर्नेको सङ्ख्या बढेर ४६९ पुगेको छ। यसै गरी चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म मात्रै ६४ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार लागू औषध प्रयोगकर्तामा जेन्जी ‘जेनेरेसन जेड’ अर्थात् किशोर किशोरीदेखि युवा उमेर समूह सबैभन्दा बढी संलग्न छन्। लागू औषध प्रयोगकर्ताको वृद्धि केवल खुला सिमानाका कारण मात्र नभई सामाजिक र पारिवारिक कारणहरू पनि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक राजकुमार सिहंले बताए । धनगढी लगायतका सहरी क्षेत्रमा पढाइको सिलसिलामा विभिन्न गाउँबाट आएका युवाहरू कोठा भाडामा बस्ने गरेको उनले बताए । उनले भने ‘उनीहरूलाई मार्गदर्शन गर्ने अभिभावक हुँदैनन्, साथीको लहैलहैमा लागेर धेरै जसो लागू औषधमा फस्छन्,।’

अहिले ‘ब्राउन सुगर’ लगायतका लागू पदार्थहरू युवाहरूका लागी बढी लोकप्रिय भएका छन्। विद्यालय र कलेज पढ्ने विद्यार्थीमा समेत यसको असर देखिन थालेको प्रहरीको भनाइ छ। प्रहरीले लागू औषध नियन्त्रणका लागि निगरानी बढाउने, विद्यालय स्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र पुनः स्थापना केन्द्रसँग सहकार्य गर्ने लगायत पक्राउ गर्ने गरिरहेको छ ।

यसैगरीे लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले बताए । उनले भने,मन्त्रालय अन्तर्गतको स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत “धूम्रपान नगरौँ, मद्यपान नगरौँ, लागू औषध प्रयोग नगरौँ”भन्ने नारासहितका सचेतना कार्यक्रम सञ्चालन भइरहेका थिए ।

तर पछिल्लो समय ‘जेनेरेसन जेड आन्दोलन’का कारण ती कार्यक्रमहरू प्रभावित भएको रेग्मीले बताए । ‘यो आर्थिक वर्षमा चलिरहेका स्वास्थ्य सचेतना कार्यक्रमहरू पनि आन्दोलनका कारण रोकिएका छन्, अहिले सम्म सुरु भएका छैनन् ।’उनले भने।

यमुना साउद, सुदूरपत्र