धनगढी —कैलालीको धनगढी उपमहानगरपालिकाले दुई वर्ष ३ महिनाको अबधिमा तीन हजार बढी सर्पको उद्धार गरेको छ ।
उपमहानगरले २०८० असारमा सुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म बिभिन्न प्रजातिका ३ हजार ८५ सर्पको उद्धार गरी वनजंगल आसपासको सुरक्षित ठाउँमा छाडिएको हो ।
सर्प उद्धार सम्बन्धी तालिम प्राप्त उपमहानगरका प्रहरी कर्मचारीले घरभित्र पसेका र सार्वजनिक स्थानमा देखा पर्ने सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छाड्ने गरिएको हो । यो कार्यक्रम उपमहानगरका १९ वटै वडामा सञ्चालित छ ।
गर्मीयाम सुरुवातसँगै सर्पको बिगबिगि हुने गरेको तराई क्षेत्रमा उपमहानगर प्रहरीलाई जानकारी प्राप्त हुने बित्तिकै नगरबासीको घर र सार्वजनिक ठाउँमा उद्धार टोली खटिने गरेको छ । उद्धार गरिएका सर्पलाई वन कार्यालयका कर्मचारीको रोहवरमा बस्ती भन्दा कम्तीमा ५ किलोमिटर टाढा वन क्षेत्र आसपास सुरक्षित हुने गरी छाड्ने गरिएको उमहानगर प्रहरी बलका सई मानबहादुर चौधरी बताउँछन् ।
उपमहानगरले तराई क्षेत्रमा बैसाखदेखि असोजसम्म सर्पदंशबाट ज्यान जाने घटना धेरै हुन थालेपछि सर्प उद्धार कार्यक्रम सुरु गरेको हो । ‘बिषालु सर्पको टोकाइबाट नगरबासीलाई जोगाउने र घरभित्र सर्प पसेर उत्पन्न हुने क्रासको वातावरण अन्त्य गर्न यो कार्यत्रम सुरु गरिएको हो,’ सई चौधरीले भने, ‘नगर क्षेत्रमा जुनसुकै बेलामा सर्प देखा परेमा हाम्रो उद्धार टोली तत्काल पुगेर सहयोग गर्दै आएको छ ।’
उद्धारमा खटिने तालिम प्राप्त नगर प्रहरीहरुका अनुसार अहिलेसम्म उद्धार गरिएका गोमन, करेत र भाइपर जस्ता विषालु र धामन, पानी सर्पलगायत प्रजातिको संख्या बढी छ । कमन कोब्रा र बल्याक कोब्रा तथा करेत प्रजातिका सर्प बढी बिषालु हुने चौधरीले बताए । उद्धारको क्रममा भाइपर र दुई वटा किंग कोब्रा पनि फेला परेको उनले बताए । यो अबधिमा उद्धार गरिएका ३ वटा अजिंगरलाई शुक्लाफाँटा निकुञ्जमा पठाइएको सई मानबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार गत असारसम्म धनगढी नगरक्षेत्रसँगै छिमेकी जिल्लाका केही स्थानीय तहमा पुगेर सर्प उद्धार गरे पनि हाल अन्यत्र जान बन्द गरिएको उनले बताए । हालै कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि सर्प उद्धार कार्यक्रम सुरु गरेको छ ।कान्तिपुर बाट