प्रेम चन्द। धनगढी ।
कैलाली हार्डवेहर व्यवसायी संघकोे १३ औँ वार्षिक साधारण सभामा वरिष्ठ समाजसेवि मायाप्रकाश भट्ट सम्मानित भएका छन्।
सुदूरपश्चिम प्रदेशको वैतडी जिल्ला स्थित साविकको द.न.पा. वडा नं १ मा पिता जगन्नाथ भट्ट र माता हंशा देवी भट्टका कोख बाट वि. स. २०१३ साल माघ ७ गते पुत्ररत्नका रुपमा जन्मिनु भई हाल धनगढी उप-महानगरपालिका वडा नं. ५ मा बसोबास गर्दै आउनु भएका समाजसेवि भट्टले सुदूरपश्चिम प्रदेश भित्र व्यापार व्यवसायका क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै कैलाली हार्डवेयर व्यवसाय संघ धनगढी कैलालीले आफ्नो तेह्रौँ वार्षिक साधारण सभामा सम्मान गरेको हो।
विसं २०४२ सालदेखि व्यवसायको सुरुवात गरेका भट्ट विक्रम सम्वत् २०६८ साल मङ्सिरमा स्थापना गरीएको कैलाली हार्डवेयर व्यवसायी संघका संस्थापक अध्यक्ष हुन्। शून्यबाट सुरुवात गरेको तथा तत्कालीन समयमा केही स-साना हार्डवेयर सामग्रीहरू मात्रै उपलब्ध हुँदा आफूहरू नै त्यसको मारमा परेको परिपेक्षमा संघको स्थापना गरी त्यसपछिका समयमा यस क्षेत्रले फड्को मारेको समाजसेवी भट्टले बताउँछन्। संस्थागत अध्यक्ष हुँदै तीन कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका भट्ट कैलाली हार्डवेयर व्यवसायी संघले हालसम्म पनि असल नेतृत्व प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै नेतृत्वहरूलाई स-गौरव धन्यवाद ज्ञापन गरेका छन् । साथै भवन निर्माणका लागि भूमि प्राप्त गरिसकेको र पुनः सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत र हुनुभएका कुबेर बहादुर शाहीलाई बधाई दिँदै संघको आफ्नै भवन निर्माण गर्न शुभकामना प्रदान गरेका छन्।
संघर्ष, लगनशीलता,निरन्तरता र इमान्दारिताका पुञ्ज मानिने समाजसेवि भट्टले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पनि चिरष्मरणीय योगदान गरेका छन्। नेपाल टुर एण्ड ट्राभल्स एसोसिएसन (नाटा)सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष, सुदूरपश्चिम समाज काठमाडौँका संस्थापक अध्यक्ष र बैतडी समाज कैलालीका संस्थापक अध्यक्ष लगायत थुप्रै सामाजीक संघसंस्थाको नेतृत्व बहन गरिसकेका छन् । थुप्रै संघसंस्थामा सल्लाहकार, संरक्षक भूमिकामा समेत रहेका छन्।
सुदूरपश्चिमकोे धनगढीमा सम्पन्न गरीएको पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ऐतिहासिक अभिनन्दन समारोहको संयोजकत्व तथा परिकल्पना समेत समाजसेवी भट्टले गरेका हुन । त्यसै गरि विभिन्न धार्मिक स्थलहरुको संरक्षण र निर्माणमा समेत उल्लेखनिय भुमिका खेलेका छन्।