बिहिबार, बैशाख १७, २०८३

सुदूरपश्चिमका ४ जिल्लामा ‘घुम्ती किम्फ’ आयोजना हुने

धनगढी: सुदूरपश्चिमका चार जिल्ला कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाममा काठमाण्डौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को संस्करण ‘घुम्ती किम्फ’ आयोजना हुने भएको छ। यो फेस्टिभल मंसिर ८ गतेदेखि १९ गतेसम्म विभिन्न स्थानमा सञ्चालन हुने आयोजक किम्फ फाउन्डेसनले जनाएको छ।

फेस्टिभलमा सामाजिक विषयवस्तुमा आधारित छोटो फिल्म र डकुमेन्ट्री प्रदर्शनका साथै कार्यशाला, बहस र छलफलका सत्रसमेत आयोजना गरिने जनाइएको छ। पहिलो प्रदर्शनीमा ‘छउ’ जस्ता सशक्त वृत्तचित्र, सुदूरपश्चिमकी महिलाले बनाएका छोटा फिल्म, नेपाल प्यानोरमा र किम्फ महोत्सवबाट छानिएका प्रभावशाली कथा प्रदर्शन गरिनेछ। दोस्रो सत्रमा कथावार्ता आयोजना हुने छ भने तेस्रो सत्रमा फिल्मकर्मी, विद्यार्थी, युवा समूह, नागरिक समाज, महिला समूह र नीति निर्मातालाई समेटेर प्यानल छलफल हुनेछ।

आयोजकका अनुसार यी सत्र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग मेल खाने हिसाबले तय गरिएको हो। कार्यक्रम स्थल र मिति यस प्रकार तय गरिएको छः मंसिर ८–९ मा कैलालीको धनगढी बहुमुखी क्याम्पस, ११–१२ मा कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय, १४ मा डडेलधुराको अलिताल गाउँपालिका हल, १६ मा डडेलधुराको अमरगढी नगरपालिका, १८ मा अछामको मालिका विद्यालय र १९ मा अछामको तुर्माखाद गाउँपालिका स्थित कालिकेश्वरी माविमा कार्यक्रम सञ्चालन हुनेछ।

यस कार्यक्रमले सुदूरपश्चिमका युवा, फिल्मकर्मी र समुदायलाई चलचित्र मार्फत सामाजिक चेतना बढाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।