धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीनदिने तालिम सञ्चालन गरेको हो ।
पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोशन तथा स्थानीय समुदायको पर्यटन सहभागिता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब ३५ जना पत्रकार सहभागी भएका थिए । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिम प्रदेशकै पर्यटन अभियानलाई सुदृढ बनाउन माइलस्टोन बन्ने बताए । उनले भने, “सुदूरपश्चिम धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्र हो । यहाँका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गरिएको यो तालिम दीगो पर्यटनका लागि टेवा पुर्याउने छ ।”
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादनका लागि यस्ता तालिम आवश्यक रहेको बताए । उनले भने, “मिडियाको स्तर सुधार्ने सबैभन्दा प्रभावकारी माध्यम नै सिपमा आधारित तालिम नै हो ।” राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको आधारभूत साधन भएको उल्लेख गर्दै भने, “एक उत्कृष्ट तस्बिरले हजार शब्द बोल्छ । नेपाललाई लेन्समार्फत विश्वमा चिनाउन सकियो भने पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”
तालिमका सहभागीले फील्ड अभ्यासका क्रममा धनगढीमा रहेको पर्यटकिय क्षेत्र जाखोर तालमा प्रशिक्षार्थीहरुलाई अभ्यास गराइएको थियो ।
पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए । उनले भने, “मिडिया गन्तव्य र आगन्तुकबीच पुलको काम गर्ने भएकोले पत्रकारहरुले दीगो र उत्तरदायी पर्यटन प्रबर्द्धनका लागि आफ्नो लेखनलाई केन्द्रित गर्नुपर्दछ । प्रभावकारी तस्बिरहरूले गन्तव्यको कथा विश्वभर पुर्याउन सक्ने भएकोले गन्तव्यको ब्रान्डिङमा ध्यान दिनुपर्दछ ।”
फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्बिर कथा निर्माण, प्रकाश–छायाँको व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण सञ्चालन गरेको थिए । कार्यक्रमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए । समापन समारोहमा पशिक्षार्थीलाई कार्यक्रम सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो । यस तालिम वाट आगामी दिनमा पर्यटन पत्रकारिता क्षेत्रमा अझै व्यवसायिक रुपमा काम गर्न सकिने प्रशिक्षार्थी लव देव धामीले बताए । यसअघि पहिलो संस्करण कोशी प्रदेशको विराटनगरमा तालिम सञ्चालन गरिएको थियो भने तेस्रो संस्करण गण्डकी प्रदेशको पोखरामा सञ्चालन गरिनेछ ।