बाजुराः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शनिवार बाजुरा जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा सहभागी हुँदै धार्मिक, शैक्षिक, पूर्वाधार तथा कृषि विकाससम्बन्धी विभिन्न घोषणाहरू गरेका छन् ।
मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको त्रिवेणी नगरपालिका – ४ तोलीमा रहेको तोली देवल माध्यमिक विद्यालयले आयोजना गरेको बडीमालिका मष्टो देवल ज्ञान,विज्ञान धार्मिक महायज्ञ उद्घाटन, नगरपालिकाको वडा नम्बर ७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन, जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा पर्ने दानसाँगु खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास तथा बुढीनन्दा नगरपालिकाको वडा नम्बर २ कोल्टीमा आयोजना भएको कृषि जैविक विविधता तथा स्थानीय उत्पादन प्रदर्शनी मेला –२०८२ को उद्घाटन गरेका थिए ।
मष्टो देवल ज्ञान,विज्ञान धार्मिक महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले बडीमालिकाको विकासका लागि प्रदेश सरका पछि नहट्ने बताए। उनले बडीमालिकालाई राष्ट्रिय,अन्तर्राष्ट्रिय रूपमा चिनाउन र व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने बताए । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको समग्र विकासका लागि प्रदेश स्तरको समिति निर्माण गरेको उनले बताए। उनले बडीमालिकाको विकास र प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारले बाजुराका स्थानीय तहका प्रमुख रहेको अध्ययन समिति बनाएको बताए ।
बडीमालिकामा आउने तीर्थयात्रीहरूलाई सहज रूपमा हिँड्नका लागि बाटो, बास बस्ने धर्मशाला, खानेपानी, शौचालयको व्यवस्था, स्वास्थ्य सेवाको प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउन अध्ययन समितिलाई निर्देशन दिएको मुख्यमन्त्री शाहले बताए। बडीमालिकाको विकासका लागि लगानी गर्न प्रदेश सरकार तयार रहेकाले जुनसुकै अवस्थामा पनि बडीमालिकाको अध्ययन टोलीको प्रतिवेदन अनुसार बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाए। विद्यालयले आयोजना गरेको महायज्ञमा मुख्यमन्त्री शाहले विद्यालयका अनाथ,टुहुरा बालबालिकाहरूको सर्वाङ्गीण विकास गर्न गरिएको निःस्वार्थको सेवाको भावमा प्रदेश सरकार आगामी आर्थिक वर्षमा आवासीय विद्यालय निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता मुख्यमन्त्री शाहले गरे ।
विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म अनाथ तथा टुहुरा ५४ जना बालबालिका निःशुल्क रूपमा अध्ययन गराउँदै आएको छ । विद्यालयले त्रिवेणी नगरपालिका र जिल्ला भित्रका अनाथ, बेसहारा र टुहुरा बालबालिकालाई निःशुल्क रूपमा अध्ययन गराउने गरी महायज्ञ महोत्सव सञ्चालन गरिएको विद्यालयले जनाएको छ । महायज्ञ महोत्सव मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।
यसैबिच बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन मुख्यमन्त्री शाहले आगामी वर्षदेखि पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने र प्रभावित विद्यालयको पुनर्निर्माण तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार रहने प्रतिबद्धता जनाए । ‘अर्को वर्ष तपाईँहरूलाई यस्तो दुःख पर्न दिन्नौँ’ मुख्यमन्त्री शाहले भने ‘पहिरो नियन्त्रणका आवश्यक पूर्वाधार बनाउन र विद्यालयका लागि छुट्टै बजेटको व्यवस्था गरिने छ।’ उनले बुढीगंगा नदीमा पक्की पुल निर्माण र मालागाड पुलमा निर्माणाधीन अवस्थामा रहेकाले निर्माण कार्य अगाडि बढाउन पहल गर्ने बताए ।
त्यसै गरी मुख्यमन्त्री शाहले बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा पर्ने दानसाँगु खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले पुल समयावधि भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनका अनुसार वर्षौँदेखि खोलामा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएपछि नगरपालिकाको पटक पटकको प्रदेश सरकारसँगको आग्रहमा शनिवार मुख्यमन्त्री शाहले पुलको निर्माणको लागि शिलान्यास गरेको बताए ।
प्रदेश सरकारको तीन करोड ९३ लाख ७५ हजार तीन सय ९६ रुपैयाँ ५० पैसाको लगानीमा सम्पन्न हुने पुल निर्माण पिके सिपिसीएस एसी जेभीसँग सम्झौता भएको छ । असार २० गते सम्झौता गरी दुई वर्ष अर्थात् २०८४ असार २० गते कार्य सम्पन्न गर्ने गरी प्रदेश सरकार सँग सम्झौता गरिएको छ । दानसाँगु खोलामा पुल नहुँदा पूर्वी उत्तरी भेगका स्थानीयहरूले सहज रूपमा सवारी साधन चढ्न पाएका थिएनन् । खोलामा पुल निर्माणपछि सवारी साधन सञ्चालनमा सहज हुनुभएपछि स्थानीयहरू खुसी भएका छन् ।
शनिवार नै बुढीनन्दा नगरपालिकाको वडा न। २ कोल्टीमा आयोजना भएको कृषि जैविक विविधता तथा स्थानीय उत्पादन प्रदर्शनी मेला –२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न किसिमका योजनाहरू ल्याएको बताए । उनले कृषकहरूका लागि विभिन्न किसिमका अनुदान, बीउ बिजन लगायत सहुलियत ऋण व्यवस्थाका लागि प्रदेश सरकारले पहल गर्ने र साथै बाजुरा जिल्लामा इलाका प्रशासन कार्यालय कोल्टीमा स्थापनाका गर्न लागिएको बताए ।
मुख्यमन्त्रीका साथमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नरेश शाही, जुना दानी, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा,हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल, बुढीनन्दा नगरपालिकाका उप प्रमुख राम बहादुर बोहरा, भौतिक पुर्वाधार विकास मन्त्रालयका निर्देशक जगतप्रसाद जोशी सहभागी थिए ।
