बिहिबार, बैशाख १७, २०८३

कानुन कागजमै, बालविवाह कायमै : कैलालीमा किशोरी सुत्केरीको संख्या डरलाग्दो

धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको कैलालीमा बालविवाह रोकिन नसक्दा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीहरूको संख्या वर्षैपिच्छे बढ्दो छ। कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरे पनि बस्ती–बस्तीमा बालविवाह र प्रारम्भिक मातृत्वको क्रम रोकिएको छैन। यसले आमा र नवजात शिशुको स्वास्थ्यमा दीर्घकालीन जोखिम बढाइरहेको चिकित्सकहरूको चेतावनी छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार गत आर्थिक वर्षको सात महिनामै ८८१ जना महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्। सेती प्रादेशिक अस्पतालमा मात्रै ३०५ जना किशोरी सुत्केरी भएका छन्। यो तथ्यांकले सामाजिक मान्यता, कमजोर जागरूकता र स्वास्थ्य शिक्षाको कमीका कारण बालविवाह अझै जरा गाडिरहेको देखाउँछ।

स्थानीय तहहरूको तथ्यांकले जिल्लाभित्र पनि ठूलो असमानता देखाउँछ। टिकापुर नगरपालिकामा ९५ जना किशोरी २० वर्षअघि नै आमा बनेका छन्, जुन कैलालीकै सर्वाधिक हो। लम्कीचुहा नगरपालिकामा १७ जना मात्र किशोरी सुत्केरी भएका छन्, जुन जिल्लामा सबैभन्दा कम हो।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले यी तथ्यांकहरू ‘डरलाग्दो’ भएको टिप्पणी गर्दै भने, “यो छोटो अवधिको तथ्यांक हो तर चिन्ताजनक छ। टेक्नोलोजीको सही उपयोग, अभिभावकको भूमिका र सम्बन्धित निकायको जागरूकता अत्यन्त आवश्यक छ।”

कानुन कागजमै : २० वर्षअघि विवाह गराए ‘जेल’ र ‘जरिवाना’

चिकित्सकहरूको चेतावनी : ‘यो उमेर सुत्केरी हुने होइन’

किशोरी गर्भधारणले निम्त्याउने स्वास्थ्य जोखिम गम्भीर हुन्छन्। अत्यधिक रक्तस्राव, कुपोषण, जटिल प्रसूति, नवजात शिशु मृत्यु दरमा वृद्धि जस्ता समस्या बढी देखिने चिकित्सकहरूको भनाइ छ। गेटा अस्पतालका डा. जगदिश बिष्टका अनुसार, “यो उमेर पढ्ने हो। विवाह र मातृत्वले किशोरीको भविष्य अनिश्चित बनाउँछ। स्वास्थ्यमा पनि दीर्घकालीन समस्या निम्त्याउन सक्छ। त्यसैले २० वर्षअघि विवाह नगर्ने र नगराउने बानी बसाल्नु अत्यावश्यक छ।”

घरमै सुत्केरी गर्ने प्रचलन अझै हटेन

कैलालीमा किशोरी मातृत्वसँगै घरमै प्रसूति गर्ने पुरानै अभ्यास पनि अन्त्य हुन सकेको छैन। तथ्यांकअनुसार— चुरे गाउँपालिकामा सबैभन्दा धेरै घरमै प्रसूति हुने गरेको छ। मोहन्याल, गौरिगंगा, गोदावरी, घोडाघोडी र लम्कीचुहा नगर–गाउँपालिका क्षेत्रमा पनि अस्पतालभन्दा घरमै बच्चा जन्माउने प्रवृत्ति उस्तै छ। स्वास्थ्यकर्मीहरूको भनाइमा घरमै प्रसूति गर्नु भनेको जटिलता र मृत्यु जोखिम बढाउनु हो। ढिलो उपचारले आमा र शिशु दुबैको ज्यानसमेत जोखिममा पर्न सक्छ।

समाधान के?

विशेषज्ञहरूको सुझाव

बालविवाह रोक्न अभिभावक–समुदायको सजगता

विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा बलियो बनाउने

युवायुवतीलाई कानुनी ज्ञान उपलब्ध गराउने

घरमै होइन, अस्पतालमै सुत्केरी गर्ने वातावरण सुनिश्चित

स्वास्थ्य सेवा र पहुँच सुदृढ गर्ने