बिहिबार, बैशाख १७, २०८३

कैलालीको धनगढीमा महेश बस्नेत आउदा भएइको झडप- प्रदर्शनकारी जेन्जी युवतीको हात भाँचियो, जेनजीले मागे निष्पक्ष छानबिन

धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको आगमनसँगै उत्पन्न तनावले घटनाक्रम गम्भीर मोड लिएको छ। बस्नेतको विरोधमा शान्तिपूर्ण रूपमा उभिएर प्रदर्शन गरिरहेका जेनजी समूहका युवामाथि एमाले निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेपछि स्थिति एक्कासि बिग्रिएको हो।

आक्रमणका क्रममा धनगढी–४ की सरिता जोशी भीडमा धकेलिँदा लडेर गम्भीर रूपमा घाइते भएकी छन्। चिकित्सकका अनुसार उनको देब्रे हातको हड्डी भाँचिएको पुष्टि भएको छ। साथै, प्रदर्शनमा सहभागी बविता जोशी र गोपाल बोहरा पनि चोटपटकसहित निसर्ग अस्पतालमा उपचाररत छन्।

घटनापछि प्रदर्शनकारी युवाहरू तनावग्रस्त बनेका छन्। शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा पनि हमला गरिएको भन्दै उनीहरूले तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। यसैसाथ, उनीहरूले औपचारिक उजुरी दर्ता गर्दै जिल्ला प्रशासन कार्यालयमा पनि पुगेका छन्।

युवाहरूको निष्पक्षता खोज्ने माग र प्रशासनको भूमिकाप्रति सबैको दृष्टि केन्द्रित भएको छ। धनगढीको वातावरण अहिले संवेदनशील बनेको छ, जहाँ न्यायको प्रतिक्षा बढ्दो छ।