सोमवार, बैशाख १४, २०८३

सुपर–७ भेट्रान क्रिकेट प्रतियोगिता २०८२को उपाधि महेन्द्रनगर रोयललाई

धनगढी २८ मंसिर / धनगढी उपमहानगरपालिका १३ राजपुरमा सम्पन्न सुपर–७ भेट्रान क्रिकेट प्रतियोगिता २०८२ को उपाधि महेन्द्रनगर रोयलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा महेन्द्रनगर रोयलले अस्था सुपर किङ्सलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्था सुपर किङ्सले ६ ओभरमा ६१ रन बनाउँदै महेन्द्रनगर रोयलसामु ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा ब्याटिङ गरेको महेन्द्रनगर रोयलले ५ ओभरमै लक्ष्य पूरा गर्दै रोमाञ्चक जित निकाल्यो। अन्तिम ओभरसम्म पुगेको खेलमा महेन्द्रनगर रोयलले २ विकेटको रोमाञ्चक जित दर्ता गर्न सफल भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कमल श्रेष्ठ ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। यस्तै, केशव राज पाण्डे उत्कृष्ट ब्याट्सम्यान र हरिहर पन्त उत्कृष्ट बलर घोषित भए।

राजपुर स्पोर्टस् क्लबको आयोजना गरिएको यस भेट्रान क्रिकेट प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले बताएका छन्। प्रतियोगितामा विभिन्न स्थानबाट भेट्रान खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको युवा क्लबका सचिव कृतिनिधि बिष्टले जानकारी दिए।

विजेतालाई नगद ५० हजार ,उपविजेतालाई नगद २५ हजार सँगै ट्रफी र मेडल प्रमाणपत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष शंकर गिरीले बताए। उपाअध्यक्ष गिरीले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

पुरस्कार वितरण निर्सग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले गरेका थिए ।