सोमवार, बैशाख १४, २०८३

कैलालीमा वन पैदावार विक्रीवितरण खुल्यो

धनगढीः प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीमा वन पैदावारको विक्रीवितरण खोलेको छ। गत भदौ ३० गते मन्त्रालयले वन पैदावार विक्रीवितरणमा प्रतिबन्ध लगाएकोमा आइतवार उक्त प्रतिबन्ध हटाएको हो।

मंसिर २८ गते आइतवार प्रदेश सचिवस्तरीय निर्णयबाट वन पैदावार विक्रीवितरणमा लागेको प्रतिबन्ध फुकुवा भएको मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले  बताए।

प्रदेश वन मन्त्रालयले काठ विक्रीवितरणमा प्रतिबन्ध लगाउँदा कैलाली जिल्लामा रहेका सामुदायिक वन, साझेदारी वन र राष्ट्रिय वनहरू गत आर्थिक वर्षमै संकलन गरेको काठ अहिलेसम्म विक्रीवितरण नहुँदा कुहिएको सामुदायिक वन समूहहरूले बताउँदै आएका थिए। उनीहरूले सरकारको गलत निर्णय विरुद्ध संघर्ष गर्न समिति नै गठन गरेका थिए।

प्रदेश सरकारको गलत निर्णका कारण चुरे पहाड क्षेत्रमा रहेका सामुदायिक वनहरूको घाटगद्दीमा रहेको सल्लाको काठ कुहिएर काम नलाग्ने अवस्थामा पुगेको चुरे-३ को पञ्चवली सामुदायिक वन समूहका अध्यक्ष प्रेमबहादुर रानाले बताए। चुरे र मोहन्याल गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वनहरूको सल्लाको काठ सरकारी निर्णयका कारण कुहिएर काम नलाग्ने भएको दाबी सामुदायिक वन समूहले गरेका छन्।