आइतवार, बैशाख १३, २०८३

सुदूरपश्चिम महोत्सवमा ‘भिजन सुदूरपश्चिम’ : सम्भावना, अवसर र समाधानमाथि सार्थक बहस

 

धनगढी – सुदूरपश्चिम महोत्सवमा सञ्चालनमा आएको नौलो कार्यक्रम ‘भिजन सुदूरपश्चिम’ ले महोत्सवलाई केवल मनोरञ्जनमा सीमित नराखी बौद्धिक बहस र विचार–मन्थनको मञ्चका रूपमा विस्तार गरेको छ।

कार्यक्रम संयोजक अजय पाण्डेय का अनुसार सुदूरपश्चिम महोत्सव एउटा साधारण मेला मात्र नभई सुदूरपश्चिमको पहिचान, सम्भावना र भविष्य निर्माणसँग जोडिएको उत्सव हो। यही उत्सवको दायरालाई अझ फराकिलो बनाउँदै महोत्सवको मञ्चलाई अधिकतम सदुपयोग गर्ने उद्देश्यले ‘भिजन सुदूरपश्चिम’ को सुरुवात गरिएको उनले बताए।

पाण्डेयले सुदूरपश्चिममा रहेका सम्भावना र अवसरको पहिचान गर्दै विद्यमान चुनौतीहरूलाई केलाउने र तिनको समाधानका उपाय खोज्ने दृढ अठोटसहित कार्यक्रम अघि बढाइएको स्पष्ट पारे।

उनका अनुसार ‘भिजन सुदूरपश्चिम’ अन्तर्गत हरेक दिन बिहान १०:०० देखि ११:३० बजेसम्म विभिन्न विधासँग सम्बन्धित विषय विज्ञ, निजी क्षेत्रका प्रतिनिधि तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागितामा सान्दर्भिक र निचोडमूलक बहस तथा छलफल सञ्चालन भइरहेको छ।

यस कार्यक्रमले नीति निर्माण, विकास, लगानी, रोजगारी, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमको भविष्यलाई स्पष्ट दिशानिर्देश दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।