धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई तीव्र बनाउँदै फरार रहेका तीन सय ४२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा कैद तथा जरिवानाको सजाय सुनाइए पनि लामो समयदेखि लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका इलाका प्रहरी कार्यालयहरूले संयुक्त रूपमा सञ्चालन गरेको यस अभियान अन्तर्गत पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । अदालतको आदेश कार्यान्वयन गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएकाले यस किसिमको अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार इकाइगत रूपमा सबैभन्दा धेरै पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको छ, जहाँबाट दुई सय चार जना प्रतिवादी पक्राउ परेका छन् । त्यसैगरी इलाका प्रहरी कार्यालय टीकापुरबाट ३३ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट ३० जना, इलाका प्रहरी कार्यालय भजनीबाट २७ जना, इलाका प्रहरी कार्यालय लम्कीबाट २१ जना, इलाका प्रहरी कार्यालय सुखडबाट १६ जना, इलाका प्रहरी कार्यालय सड्कपुरबाट ८ जना र इलाका प्रहरी कार्यालय चिसापानीबाट ३ जना प्रतिवादी पक्राउ परेका छन् । यसरी विभिन्न इकाइमार्फत गरिएको कारबाहीबाट जम्मा तीन सय ४२ जना फरार प्रतिवादी नियन्त्रणमा आएको सह–प्रवक्ता तथा प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।
पक्राउ परेका प्रतिवादीहरू विभिन्न प्रकारका मुद्दामा दोषी ठहर भई कैद तथा जरिवानाको सजाय तोकिए पनि फैसला कार्यान्वयन हुन नसकी फरार अवस्थामा रहेका थिए । प्रहरीका अनुसार यस्ता व्यक्तिहरूको पक्राउले न्यायिक प्रक्रिया मजबुत हुने, कानुनको शासन स्थापित हुने र आम नागरिकमा कानूनप्रतिको विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतको आदेश पालना गराउन तथा समाजमा शान्ति सुरक्षा कायम राख्न आगामी दिनहरूमा पनि फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तर र प्रभावकारी रूपमा अगाडि बढाइने स्पष्ट पारेको छ ।
