बुधबार, बैशाख १६, २०८३

कला र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न सकिएन भने पहिचान नै संकटमा

धनगढी– सुदूरपश्चिम प्रदेश भाषा, कला, साहित्य र संस्कृतिको दृष्टिले अत्यन्तै समृद्ध छ । लोकगीत, लोकनृत्य, चाडपर्व, भेषभूषा, हस्तकला, दर्शन र परम्पराले यो भूगोललाई फरक पहिचान दिएको छ । तर यही मौलिक पहिचान आज संरक्षण र प्रवद्र्धनको अभावमा संकटतर्फ उन्मुख भइरहेको सरोकारवालाहरूको ठहर छ । कला र संस्कृतिलाई जीवन्त बनाइराख्न अर्थतन्त्रसँग जोड्न नसक्दा कलाकार पलायन बढेको र यसले दीर्घकालमा सुदूरपश्चिमको सांस्कृतिक अस्तित्वमै प्रश्न उठाउने अवस्था आएको उनीहरूको भनाइ छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सवअन्तर्गत सञ्चालन भइरहेको भिजन सुदूरपश्चिम बहस कार्यक्रममा ‘भाषा, कला, साहित्य र संस्कृति ः दृष्टि र नीति’ विषयमा आयोजित छलफलले यही यथार्थलाई उजागर ग¥यो । बहसमा सहभागी भाषाविद्, कलाकार, अनुसन्धानकर्ता तथा नीति निर्माण तहका प्रतिनिधिहरूले कला र संस्कृतिलाई केवल भावनात्मक सम्पदा होइन, आर्थिक स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

बहसमा वक्ताहरूले कलाकार पलायनलाई गम्भीर समस्याका रूपमा चित्रण गरे । रोजगारी र आर्थिक सुरक्षाको अभावमा कलाकार, सर्जक र साहित्यकारहरू आफ्नो पेशाबाट विमुख हुन बाध्य भएको उनीहरूको भनाइ थियो । कलाकार पलायन हुनु भनेको केवल व्यक्तिको रोजगारी संकट होइन, त्यो सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिको क्रमिक लोप हो ।

एक वक्ताले भने, ‘कलाकार बाँच्न नसकेपछि कला कसरी बाँच्छ? कलाकार पलायन हुनु भनेको हाम्रो पहिचान बिस्तारै मर्नु हो ।’ यही यथार्थका कारण प्रदेश तथा स्थानीय सरकारले कला र संस्कृतिलाई आयआर्जनसँग जोड्ने नीतिगत पहल गर्नुपर्ने माग उठ्यो ।

भाषा, धर्म, दर्शन, चाडपर्व, नृत्य, संगीत, लोककला र हस्तकलामा सुदूरपश्चिम अत्यन्तै धनी छ । देउडा, हुड्केली, भुवो, गौरा पर्व, स्थानीय वाद्ययन्त्र र मौलिक पहिरनले यस क्षेत्रलाई विशिष्ट बनाएको छ । तर यति धेरै सम्भावना हुँदाहुँदै पनि यसलाई व्यवस्थित रूपमा उपयोग गर्न नसकिएको सरोकारवालाहरूको निष्कर्ष थियो ।

अनुसन्धानकर्ता हेमन्त विवशले प्रदेश सरकारको कला, साहित्य र संस्कृतिप्रतिको दृष्टिकोण स्पष्ट नभएको बताए । उनले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको भूमिकामाथि प्रश्न उठाउँदै भने, ‘प्रज्ञा प्रतिष्ठानको मुख्य काम भाषा, कला, साहित्य र संस्कृतिको खोज तथा अनुसन्धान हो । तर त्यो संस्थाले भजन प्रतियोगिताजस्ता सतही कार्यक्रममा सीमित भएर बस्नु कत्तिको सार्थक छ ?’

उनका अनुसार आयातित संस्कृतिको प्रभाव बढ्दै जाँदा स्थानीय संस्कृति ओझेलमा परेको छ । यसले सामाजिक उच्छृङ्खलता बढाउने मात्र होइन, सुदूरपश्चिमको मौलिकता नै खतरामा पार्ने जोखिम छ । ‘त्यही उच्छृङ्खलता नियन्त्रण गर्ने जिम्मेवारी प्रज्ञा प्रतिष्ठानको हो, तर संस्था आफैं दिशाहीन देखिन्छ,’ उनले भने ।

सुदूरपश्चिममा बोलिने विभिन्न भाषाहरूको लिखित मानक नहुनु पनि ठूलो समस्या बनेको छ । हेमन्त विवशले भाषाको मानकीकरण नहुँदा भाषा खण्डित हुँदै गएको र नयाँ पुस्ताले मातृभाषाबाट टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार भाषा लोप हुनु भनेको इतिहास, ज्ञान र संस्कृति लोप हुनु हो ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले प्रदेश सरकारले कला, साहित्य र संस्कृति क्षेत्रमा पञ्चवर्षीय योजना बनाएर काम गर्ने तयारी गरेको बताए । अध्ययन, अनुसन्धान र संरक्षणका लागि नै प्रज्ञा प्रतिष्ठान गठन गरिएको स्पष्ट पार्दै उनले यस क्षेत्रमा सरकारको ध्यान केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘भाषा, कला र संस्कृति जीवनसँग अनन्त रूपमा जोडिएका विषय हुन् । विकास भनेको केवल सडक र भवन मात्र होइन, संस्कृति जोगाउनु पनि विकासकै हिस्सा हो ।’ यद्यपि बहसमा सहभागीहरूले योजनामात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याए ।

गायक चक्र बमले सुदूरपश्चिमको लोक संस्कृति पछाडि धकेलिँदै गएको यथार्थलाई पुस्तान्तरणसँग जोडेर व्याख्या गरे । उनका अनुसार नयाँ पुस्तामा आफ्नो संस्कृति हस्तान्तरण हुन नसक्दा मौलिकता हराउँदै गएको छ ।

‘अब संस्कृति जोगाउने काम घरबाटै सुरु हुनुपर्छ,’ उनले भने, ‘हामीले आफ्ना बालबालिकालाई सुदूरको गीत, भाषा र संस्कृतिसँग जोड्न सकेनौं भने भविष्यमा खोजेर पनि भेटिँदैन ।’ उनले आफूले पछिल्ला तीन वर्षयता गीत–संगीतमार्फत सुदूरपश्चिमको कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने प्रयास गरिरहेको बताए ।

बहस कार्यक्रममा यज्ञराज अवस्थी, सरस्वती खड्का भट्ट, महेश बडू, डिल्लीराज ओझा ‘समर्पण’, गणेशबहादुर सिंह, समीर परियार, राजकुमार श्रेष्ठ, अम्बिकाप्रसाद आचार्य, सुरेन्द्र संगम, पुष्पा बडैला, निल गगन र विवेक नागरीलगायत सहभागीहरूले धारणा राख्दै वक्ताहरूसँग प्रश्न–उत्तर गरेका थिए । उनीहरूले स्थानीय तहको भूमिका, बजेट विनियोजन र निजी क्षेत्रको सहभागिताबारे पनि जिज्ञासा राखेका थिए ।

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमसँगै बिहानको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रमले सुदूरपश्चिमका सम्भावना, समस्या र समाधानबारे सार्वजनिक बहसको वातावरण सिर्जना गरेको छ ।

यसअघि कृषि सम्भावना, खेलकुद पूर्वाधार, शिक्षा, उद्योग–व्यापार, होटल व्यवसायलगायत विषयमा बहस भइसकेको छ । छैटौँ श्रृंखलाका रूपमा भाषा, कला, साहित्य र संस्कृतिमाथि भएको बहसले विकासको परिभाषालाई फराकिलो बनाएको छ ।

बहसको सार यही हो– कला र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न सकिएन भने सुदूरपश्चिमको पहिचान संकटमा पर्छ । संस्कृति संरक्षण केवल भावनात्मक विषय होइन, यो रोजगारी, पर्यटन, उद्यम र दीगो विकाससँग जोडिएको विषय हो । कलाकार बाँच्ने वातावरण बने मात्र कला बाँच्नेछ । त्यसका लागि स्पष्ट नीति, पर्याप्त बजेट, अनुसन्धान, पुस्तान्तरण र सामूहिक प्रतिबद्धता अपरिहार्य देखिन्छ ।

सुदूरपश्चिमको विकासको यात्रा सडक, भवन र उद्योगसँगै भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनसँग जोडिए मात्र सार्थक हुने सरोकारवालाहरूको साझा निष्कर्ष छ ।