आइतवार, बैशाख १३, २०८३

धनगढीको लाजमर्दो अवस्था – सार्वजनिक शौचालय नहुँदा यात्रु हैरान, भन्सार रोड क्षेत्रमा तत्काल शौचालयको माग

 

धनगढी—सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सार्वजनिक शौचालयको अभावले यात्रु तथा सर्वसाधारण हैरान भएका छन्। विशेषगरी भन्सार रोड क्षेत्र, जहाँ दैनिक सयौं यात्रु, व्यापारी र सर्वसाधारणको आवत–जावत हुने गर्दछ, त्यहाँ सार्वजनिक शौचालय नहुँदा ठूलो समस्या उत्पन्न भएको छ।

लामो दूरीका सवारी साधन प्रयोग गर्ने यात्रु, वृद्धवृद्धा, महिला तथा बालबालिका सबैभन्दा बढी समस्यामा परेका छन्। शौचालयको विकल्प नहुँदा कतिपय यात्रुहरू होटल वा पसल खोज्दै भौतारिन बाध्य छन् भने कतिपयले असहज अवस्थामा बस्नुपर्ने अवस्था आएको स्थानीय तुलसी बहादुर सनीले बताएका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार शौचालयको अभावले शहरको स्वच्छता र छविमा समेत नकारात्मक असर परेको छ। “धनगढी जस्तो शहरमा यति व्यस्त क्षेत्रमा पनि सार्वजनिक शौचालय नहुनु लाजमर्दो कुरा हो,” एक व्यवसायीले भने।

यात्रु तथा स्थानीयले धनगढी उपमहानगरपालिका र सम्बन्धित निकायसँग भन्सार रोड क्षेत्रमा तत्काल सार्वजनिक शौचालय निर्माण गर्न माग गरेका छन्। जनस्वास्थ्य, पर्यटकीय छवि र मानव मर्यादासँग जोडिएको विषय भएकाले ढिलाइ नगरी आवश्यक पहल गर्न उनीहरूको आग्रह छ।