धनगढी – धनगढी उपमहानगरपालिका–स्थित मालपोत तथा नापी कार्यालय अगाडिको सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राखेको पार्किङ निषेध सूचना पाटीको खुलेआम अवज्ञा गर्दै सवारीसाधन पार्किङ गरिएको पाइएको छ।
उक्त क्षेत्रमा अव्यवस्थित र जथाभावी पार्किङका कारण सवारी आवागमन अवरुद्ध हुनुका साथै सडक दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढेको छ। ट्राफिक व्यवस्थापनका लागि राखिएको सूचना पाटी प्रभावहीन बन्दै गएको स्थानीयको गुनासो छ।

मालपोत कार्यालयले पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सेवा लिन आउने सेवाग्राहीहरू दैनिक सास्ती भोग्न बाध्य छन्। कार्यालय आसपासको सडक खण्ड साँघुरो भएकाले गलत तरिकाले पार्क गरिएका सवारीले पैदल यात्रु र सवारी चालक दुवैलाई जोखिममा पारेको देखिन्छ।

सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सो क्षेत्रमा पार्किङ निषेध सूचना पाटी राखेको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
स्थानीयवासी तथा सेवाग्राहीहरूले सम्बन्धित निकायलाई तत्काल कडाइका साथ ट्राफिक नियम लागू गर्न, अव्यवस्थित पार्किङ हटाउन र वैकल्पिक पार्किङको स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। यसतर्फ गम्भीर ध्यान नदिइए दुर्घटना कुनै पनि बेला हुन सक्ने उनीहरुको भनाइ छ ।
