शनिबार, बैशाख १२, २०८३

कैलालीमा फैलिँदै संगठित अपराधको जालो, बैंकिङ कसुरका मुद्दा बढ्दै

धनगढी: कैलाली जिल्लामा संगठित अपराधको जालो तीव्र रूपमा फैलिँदै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो साढे तीन महिनाको अवधिमा मात्रै संगठित अपराधसम्बन्धी ९८ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लामा बैंकिङ कसुरसम्बन्धी अपराध पनि बढ्दो क्रममा देखिएको छ। प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा बैंकिङ कसुरका १ सय ५३ वटा मुद्दा दर्ता भएका छन् भने २४ जनालाई पक्राउ गरिएको छ। यसले आर्थिक अपराध कैलालीका लागि चुनौती बन्दै गएको देखाएको छ।

यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी लगायतका गम्भीर प्रकृतिका अपराध पनि नियन्त्रणमा आउन सकेका छैनन्। पछिल्लो साढे तीन महिनामा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ७६ वटा मुद्दा दर्ता भएका छन्, जसमा ५३ जना पक्राउ परेका छन्। आत्महत्याका घटनासमेत उच्च देखिएको छ। सो अवधिमा आत्महत्यासम्बन्धी ९६ वटा मुद्दा दर्ता भएका छन्। सामाजिक अपराधतर्फ हेर्दा ५० वटा मुद्दा दर्ता भई ९२ जना पक्राउ परेका छन्। जबरजस्ती करणी, बालविवाह, बोक्सी आरोप लगायत महिला सम्बन्धी अपराधका २७ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३४ जना पक्राउ परेका छन्।