मङ्लबार, बैशाख ८, २०८३

धनगढी बसपार्कमा ट्राफिकको कडाइ: बसमा मालबस्तु बोक्न रोक, ओभरलोड नगर्न आग्रह

कैलाली — जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्क क्षेत्रका यात्रु वाहक सवारी साधनमा व्यवसायिक प्रयोजनका सामग्री नबोक्न अनुरोध गरेको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यस्तो आग्रह गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष सिंहको कमाण्डमा खटिएको ट्राफिक टोलीले सवारीधनी तथा चालकहरूलाई बसमा ओभरलोड नगर्न पनि सचेत गराएको छ। अनुगमनका क्रममा यात्रु वाहक सवारीमा मालबस्तु बोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो कार्य नगर्न निर्देशन दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले नियम विपरीत कार्य गरे कारबाही गरिने स्पष्ट गर्दै यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न सबैलाई नियमको पालना गर्न अपिल गरेको छ।