बिहिबार, जेष्ठ २१, २०८३

धनगढी बसपार्क क्षेत्रबाट साढे ४ लाख बढीका अवैध कपडा बरामद

धनगढी बसपार्क क्षेत्रबाट साढे ४ लाख बढीका अवैध कपडा बरामद
धनगढी, जेठ २१ – कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छलि नेपाल भित्र्याइएका लाखौं रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।
मिति २०८३ जेठ २१ गते दिउँसो १:३० बजे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय त्रिनगर कैलालीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनजंग कार्कीको कमाण्डमा खटिएको ७ सदस्यीय गाडी मोबाइल टोलीले उक्त सामान बरामद गरेको हो।
प्रहरी टोलीले बसपार्क क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएका लेडिज तथा जेन्स कपडा फेला पारेको थियो। बरामद कपडाको अनुमानित मूल्य रु. ४ लाख २३ हजार ६ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका कपडाहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन साँझ ४:५० बजे कैलाली भन्सार कार्यालय मा दाखिला गरिएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।