धनगढी, २१ जेठ / कैलालीस्थित गेटा आँखा अस्पताल यतिबेला कर्मचारी, प्रशासन र स्थानीय बीचको विवादका कारण चर्चामा छ। कर्मचारीहरूले अस्पतालभित्र सीमित व्यक्तिको प्रभाव र नियन्त्रण बढ्दै गएको आरोप लगाउँदै कर्मचारीहरुले प्रशासन विरुद्ध असन्तुष्टि पोखेसँगै स्थानीयहरुले पनि एक्यवद्धता जनाएर विवादलाई थप उत्कर्षमा पुगाएका छन्।
यो विवाद सिर्जना हुनका पछाडि मुख्य ३ जना प्रशासन प्रमुख दीर्घबहादुर चन्द, वरिष्ठ प्रशासनिक अधिकृत गोविन्दप्रसाद जोशी र बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट रहेको समेत कर्मचारी र स्थानीयहरूले उल्लेख गरेका छन्।
अस्पतालभित्र बढ्दो असन्तुष्टिको अर्को केन्द्र वरिष्ठ प्रशासनिक अधिकृत गोविन्दप्रसाद जोशी बनेका छन्। कर्मचारीहरूका अनुसार जोशीले गेटा आँखा अस्पतालमा १७ वर्षको अवधिमा ६–७ पटकसम्म बढुवा प्राप्त गरेका छन्। जबकि सोही अवधिदेखि कार्यरत अन्य कर्मचारीहरू अझै उही तहमा सीमित रहेको बताइन्छ।
कर्मचारीहरू प्रश्न गर्छन्, “यदि बढुवाको आधार योग्यता, क्षमता र कार्यसम्पादन हो भने एउटै कर्मचारीले पटक–पटक अवसर पाउँदा अन्य कर्मचारी किन पछि परे ?” उनीहरूका अनुसार अस्पतालभित्र सबैभन्दा बढी लाभ र अवसर प्राप्त गर्ने कर्मचारीका रूपमा जोशीलाई हेरिने गरिएको छ।
यस्तै बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टमाथि पनि कर्मचारीहरूले प्रश्न उठाएका छन्। अवकाश प्राप्त भएपछि गेटा आँखा अस्पतालमा कार्यरत भट्टले प्रशासनिक र संस्थागत गतिविधिमा ठुलो प्रभाव जमाएका छन्। उनीहरूका अनुसार भट्ट औपचारिक जिम्मेवारीभन्दा बाहिरका विषयमा समेत प्रभाव राख्ने व्यक्तिका रूपमा चिनिन्छन्।
कर्मचारीहरूले अस्पतालभित्र वृत्ति विकास, जिम्मेवारी बाँडफाँट, अवसर वितरण र प्रशासनिक निर्णयमा पारदर्शिताभन्दा पनि पहुँच र निकटताको प्रभाव बढी देखिएको बताएका छन्। यसले कर्मचारीबीच असन्तुष्टि र विभाजन बढाएको उनीहरूको दाबी छ।
अस्पतालमा महँगी भत्ता वितरणमा भएको ढिलाइ, कर्मचारीका गुनासो सम्बोधनको शैली, बारम्बार स्पष्टीकरण सोधिने अभ्यास तथा बढुवा प्रक्रियामाथि उठेका प्रश्नहरूले पनि प्रशासनप्रतिको अविश्वास बढाएको कर्मचारीहरूको भनाइ छ।
कर्मचारीहरुको असन्तुष्टि पछि ७ दिन सम्म समस्या समाधान गर्ने भनेर जेठ २० गते अस्पताल प्रशासनसँग सामान्य सहमति भए पनि स्थानीयहरु भने आफ्नो ६ बुँदे माग सहितको अडानमा अडिग छन्।