मङ्लबार, अशोज २०, २०८३

डोटीमा ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

डोटी । डोटीको जोरायल गाउँपालिका –०१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
आज बिहान ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका –०५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरी सहित टोली घटनास्थलमा घाइतेहरूको उद्धार कार्यमा खटिई घाइतेहरूलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पठाएको छ ।
घाइते हुनेमा डोटी जोरायल–१ चपरचानीका अमर सिजाली मगर (३३), डम्बर थापा (४६), भरत थापा मगर (१८) , विवश थापा मगर (१८), गोगनपानीका जितबहादुर विक (५२), धानाकोटका रूपलाल विक (३२) र अनिषा विक (३२), सपुरसानीका हर्कबहादुर थापा मगर (३५) तथा अनिषा विककी ३ वर्षीया छोरी करिश्मा विक रहेका छन्।