मङ्लबार, अशोज २०, २०८३

धनगढीमा पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम

धनगढी– कैलालीको धनगढीमा पुँजीबजारसम्बन्धी ज्ञान तथा लगानीकर्ताको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्डको समन्वय, स्टक ब्रोकर्स एशोसियसन अफ नेपालको सह–आयोजना तथा दिपशिखा धितोपत्र कारोबार कम्पनी धनगढीको आयोजनामा मंगलबार कैलाली बहुमुखी क्याम्पसमा कार्यक्रम भएको हो ।
कार्यक्रममा क्याम्पसमा स्नातक तह तथा स्नातकोत्तर तहमा अध्ययनरत करिब ६० जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीलाई नेपालको पुँजीबजारको अवस्था, धितोपत्रमा लगानी गर्ने प्रक्रिया, लगानी गर्दा अपनाउनुपर्ने सावधानी तथा बजारसँग सम्बन्धित आधारभूत विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा, केन्द्रीय निक्षेप सेवा तथा व्यवस्थापनसम्बन्धी संस्थाका डेटाबेस तथा एमआइएस, सेटलमेन्ट र क्लियरिङ डिभिजन प्रमुख नारायणप्रसाद शर्मा, दिपशिखा धितोपत्र कारोबार कम्पनी धनगढी शाखाका इन्चार्ज प्रेम शर्मा तथा अपरेशनल इन्चार्ज सुधिर अवस्थीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई पुँजीबजारको संरचना र कार्यप्रणालीबारे जानकारी दिइएको थियो । साथै धितोपत्र बजारमा लगानी गर्नुअघि आवश्यक सूचना संकलन, कम्पनीको वित्तीय अवस्था तथा कार्यसम्पादनको अध्ययन, जोखिम मूल्यांकन र लगानीसम्बन्धी निर्णयमा सचेत हुनुपर्ने विषयमा समेत जानकारी गराइएको थियो ।
पछिल्लो समय सर्वसाधारण तथा युवा पुस्ताको आकर्षण पुँजीबजारतर्फ बढ्दै गएको अवस्थामा लगानीसम्बन्धी सही ज्ञान र सूचना आवश्यक रहेको सहभागी वक्ताहरूले बताएका थिए । बजारमा अवसरसँगै विभिन्न प्रकारका जोखिमसमेत रहने भएकाले हल्ला, अपुष्ट सूचना वा अरूको प्रभावमा परेर लगानी गर्नुभन्दा अध्ययन र विश्लेषणका आधारमा निर्णय लिनुपर्नेमा जोड दिइएको थियो ।
विशेषगरी विद्यार्थी तथा नयाँ लगानीकर्तालाई पुँजीबजारको आधारभूत ज्ञान प्रदान गर्न यस्ता सचेतनामूलक कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाइ थियो । वित्तीय साक्षरता अभिवृद्धिसँगै लगानीकर्तालाई आफ्नो अधिकार, जिम्मेवारी र बजारमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन सकेमा सुरक्षित तथा जिम्मेवार लगानी संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको पुँजीबजारमा नयाँ लगानीकर्ताको सहभागिता विस्तार भइरहेका बेला विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीलाई लक्षित गरी वित्तीय तथा पुँजीबजारसम्बन्धी ज्ञान प्रदान गर्ने कार्यक्रमले भविष्यका लगानीकर्तालाई सचेत बनाउन योगदान पु¥याउने विश्वास गरिएको छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रममार्फत पुँजीबजारलाई केवल तत्कालीन नाफा कमाउने माध्यमका रूपमा नभई व्यवस्थित, सूचनामा आधारित र जिम्मेवार लगानीको क्षेत्रका रूपमा बुझाउन आवश्यक छ । धनगढीमा आयोजित कार्यक्रमले विद्यार्थीमा पुँजीबजारसम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नुका साथै लगानी गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत सचेतना फैलाउने अपेक्षा गरिएको छ ।