धनगढी: दशैं, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रु आवागमन, बजारमा हुने भीडभाड तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चाडपर्वको समग्र सुरक्षा व्यवस्थाका लागि जिल्लाभर १ हजार १४६ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलता र जोखिमका आधारमा प्रहरीलाई विभिन्न क्षेत्रमा खटाइने तथा मोबाइल र पैदल गस्ती, पिकेट, सादा पोशाक, क्यूआरटी, स्ट्राइकिङ र रिजर्भ टोली परिचालन गरिनेछ। प्रहरीले बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाउने जनाएको छ। सम्भावित आपराधिक गतिविधिको सूचना संकलन र विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गरिनेछ।
चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समन्वय गरिने प्रहरीले जनाएको छ। यस्तै, भारतसँग जोडिएका सीमा क्षेत्रमा विशेष निगरानी बढाइने भएको छ। सीमा नाकामा चेकजाँच तथा शंकास्पद गतिविधिमाथि निगरानी गर्दै चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा जोड दिइनेछ।
चाडपर्वमा बढ्ने सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा सडक सुरक्षा तथा सवारी जाँचलाई समेत प्रभावकारी बनाइने प्रहरीले जनाएको छ। सवारी साधनको अवस्था, चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको र तीव्र गतिलगायतका विषयमा निगरानी गरिनेछ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, सहकारी, व्यापारिक प्रतिष्ठान तथा बढी आर्थिक कारोबार हुने स्थानमा विशेष सुरक्षा निगरानी गरिनेछ। चोरी, लुटपाट र पाकेटमारी नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।
त्यसैगरी जुवातास, अवैध मदिरा, लागुऔषध, चोरी, लुटपाटलगायत गैरकानुनी गतिविधि नियन्त्रणका लागि विशेष निगरानी तथा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ। मन्दिर, धार्मिक स्थल, मेला, बजार तथा अन्य भीडभाड हुने स्थानमा समेत आवश्यक प्रहरी परिचालन गरिनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको सुरक्षालाई विशेष प्राथमिकता दिइने र आगलागी, सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनामा तत्काल परिचालन हुन सक्ने गरी प्रहरी जनशक्ति र समन्वयको व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय तह, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले नागरिकलाई दशैं, तिहार तथा छठ पर्व शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गर्दै घर, पसल तथा कार्यालय छोडेर बाहिर जाँदा आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ। अपरिचित व्यक्ति तथा शंकास्पद गतिविधिबाट सचेत रहन र कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।