मङ्लबार, अशोज २०, २०८३

बिम्स्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जाँदै

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ आगामी असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने भएका छन्।

गृहमन्त्रीको पदभार ग्रहण गरेपछि गुरुङको यो पहिलो आधिकारिक विदेश भ्रमण हो।

क्षेत्रीय सुरक्षा र सहयोगमा केन्द्रित हुने

भारतीय राजधानी नयाँ दिल्लीमा आयोजना हुने उक्त सम्मेलनमा बिम्स्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा क्षेत्रीय सुरक्षा सुदृढीकरण, आतङ्कवाद नियन्त्रण, मानव बेचबिखन तथा सङ्गठित अपराधविरुद्धको सहकार्य र सीमा व्यवस्थापन जस्ता साझा चुनौतीहरूबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहका साथै अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सन् १९९७ मा स्थापित बिम्स्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहेका छन्।