शनिबार, बैशाख १२, २०८३

भुवा पर्वको अवसरमा सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ । विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन् । यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।
पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ । पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ । विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ ।