शुक्रबार, बैशाख ४, २०८३

धनगढीमा नयाँ वर्षको पुर्वसन्ध्यामा पेनल्टी सुटआउट प्रतियोगिता सम्पन्न

धनगढी – धनगढीमा नयाँ वर्ष २०८३ को पुर्वसन्ध्यामा पेनल्टी सुटआउट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित चन्द्र सूर्य मैदानमा आयोजित उक्त प्रतियोगितामा सघर्ष युवा क्लब अत्तरियाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। विजेता टोलीले नगद रु. ५१,१११ पुरस्कार प्राप्त गरेको छ।

त्यसैगरी रम्भा देवी क्लबले द्वितीय स्थान हासिल गर्दै रु. २१,१११ नगद पुरस्कार जित्न सफल भयो। प्रतियोगितामा २० टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन धनगढी वडा नं. ३ का वडा अध्यक्ष राज बहादुर ऐरले गरेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिना विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए।

त्यस्तै, सनराइज टेलिभिजनका म्यानेजिङ डाइरेक्टर उत्तम थापा, सिइओ दीप श्रेष्ठ, क्यान कैलाली तथा केन्द्रीय सदस्य विक्रम विष्ट लगायतका व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए। साथै विभिन्न समाजसेवी तथा बुद्धिजीवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम “द टुइन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्स, धनगढी” द्वारा आयोजना गरिएको हो भने सफल सञ्चालनमा विभिन्न संघ–संस्थाहरूको सहयोग रहेको आयोजकले जनाएको छ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।