आइतवार, अशोज २५, २०८३

तरकारी बोक्ने गाडीबाट ५७० किलो गाँजा बरामद

विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप गाडीबाट गाँजा बरामद भएको छ । शनिबार राति मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी0 नोचाबाट खटिएको टोलीले शनिबार राति ११ बजेतिर जहदा गाउँपालिका–४ स्थित रामचोकबाट गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारत तर्फ जान लागेको प्र १–०१–०० च ७४२२ नम्बरको भ्यानलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए । त्यसपछि खानतलासी गर्दा स्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखिएको १९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

बरामद गरिएको गाँजा तौल गर्दा कुल ५७० किलो रहेको छ । बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।