कैलाली । नेपाल फोटोग्राफर एसोसिएसन फुलबारी–हसुलिया उपसमितिको आयोजनामा असोज २४ गते शनिबार उपसमिति संयोजक चयन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विपतराम चौधरीलाई उपसमिति संयोजकमा चयन गरिएको छ ।
हसुलिया उपसमितिका संयोजक जनकराम चौधरीको सभापतित्व तथा नेपाल फोटोग्राफर एसोसिएसनका अध्यक्ष दिवाकर सिंह ठेकरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एसोसिएसनका सचिव कुलराज चौधरी, सदस्य झुपेन्द्र बोहरा, कैलाली कार्यसमितिका पदाधिकारी, फोटोग्राफर सदस्य, सल्लाहकार समितिका प्रतिनिधि तथा फुलबारी–हसुलिया उपसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट उपसमितिको सचिवमा कन्हैया चौधरी, लेखा संयोजकमा हरि चौधरी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामप्रसाद चौधरी, रामदिन चौधरी, जुनेश चौधरी, प्रदीप चौधरी, सञ्जीव चौधरी र चिरण चौधरी चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर एसोसिएसनका अध्यक्ष दिवाकर सिंह ठेकरेले फोटोग्राफर सदस्यहरूको हकहित, पेसागत विकास तथा उनीहरूले भोग्दै आएका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले प्रत्येक उपसमितिका सदस्यहरूको गुनासो प्रत्यक्ष रूपमा सुन्ने र समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ठेकरेले एसोसिएसनका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन वार्षिक कार्यतालिका निर्माण गरी सदस्यहरूको हितमा विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने जानकारी समेत दिए ।