आइतवार, अशोज २५, २०८३

डरलाई चुनौती दिँदै सर्प उद्धारमा किर्ति हमालको साहस र संघर्ष

बसन्ती ऐर, कञ्चनपुर । अरूले सर्प देख्नेबित्तिकै डरले पाइला पछाडि सार्छन् । कतिपयले त सर्पलाई मार्नसमेत पछि पर्दैनन् । तर कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी किर्ति बहादुर हमाल भने सर्प देख्दा त्यसलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयासमा जुट्नुहुन्छ । जोखिम, चुनौती र स्रोतसाधनको अभावका बीच उहाँले सञ्चालन गर्दै आएको सर्प उद्धार अभियान साहस, समर्पण र जीव संरक्षणप्रतिको जिम्मेवारीको उदाहरण बनेको छ ।
समाजमा सर्पप्रति रहेको डर र नकारात्मक धारणालाई परिवर्तन गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ हमाल सर्प उद्धारमा सक्रिय हुनुहुन्छ । उहाँका लागि सर्प उद्धार केवल जीव बचाउने कार्य मात्र नभई मानिसलाई सर्पप्रति सचेत बनाउने र प्रकृतिको सन्तुलन कायम राख्न योगदान पु¥याउने अभियान पनि हो ।
सर्पलाई देख्ने बित्तिकै मार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित रूपमा उद्धार गरी उपयुक्त प्राकृतिक बासस्थानमा स्थानान्तरण गर्नुपर्ने सन्देश उहाँले फैलाउँदै आउनुभएको छ । सर्प पनि प्रकृतिको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँको अभियानले देखाउँछ ।
यद्यपि, सर्प उद्धारको यात्रा सहज भने छैन । विषालु सर्पको उद्धार आफैँमा जोखिमपूर्ण कार्य हो । आवश्यक सुरक्षा सामग्री, उद्धारका उपकरण, प्राविधिक सहयोग तथा पर्याप्त स्रोतसाधनको अभावले अभियानलाई थप चुनौतीपूर्ण बनाएको छ । जोखिमका बीच पनि जीव संरक्षणप्रतिको समर्पणले उहाँलाई यस कार्यमा निरन्तर लाग्न प्रेरित गरिरहेको छ ।
सर्प उद्धारका क्रममा उद्धारकर्ताको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । पर्याप्त तालिम, उपयुक्त सुरक्षा उपकरण र आवश्यक प्राविधिक ज्ञानबिना सर्प समात्ने वा उद्धार गर्ने प्रयास गर्दा उद्धारकर्ता र सर्वसाधारण दुवै जोखिममा पर्न सक्छन् । त्यसैले क्रीति हमालजस्ता अभियानकर्मीलाई आवश्यक तालिम, सुरक्षा सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन स्थानीय सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
सर्पले मानिसलाई जोखिममा पार्न सक्ने अवस्था भए पनि सबै सर्प विषालु हुँदैनन् । त्यसैले सर्प देखिएमा नजिक जाने, समात्ने वा मार्ने प्रयास गर्नुभन्दा सुरक्षित दूरी कायम राखी तालिमप्राप्त उद्धारकर्तालाई खबर गर्नु उपयुक्त हुन्छ । यसले सम्भावित दुर्घटना न्यूनीकरण गर्नुका साथै सर्पको अनावश्यक हत्या रोक्नसमेत मद्दत पु¥याउँछ ।
डरलाई सचेतनामा, चुनौतीलाई प्रयासमा र जोखिमलाई जिम्मेवारीमा बदल्दै अघि बढेका किर्ति बहादुर हमालको अभियानले प्रकृति तथा जीव संरक्षणको महत्त्वपूर्ण सन्देश दिएको छ । उहाँको प्रयासलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन समुदाय, स्थानीय सरकार तथा सम्बन्धित संघसंस्थाको सहयोग आवश्यक छ ।