आइतवार, अशोज २५, २०८३

धनगढीमा पूर्व एसपीको घर बन्यो जुवाको अखडा, दिउँसै चलिरह्यो खेल

धनगढी : धनगढीमा एक सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक (एसपी) को घरमा प्रहरीले छापा मारेर जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित ५५ वर्षीय धनबहादुर सिंहको घरमा छापा मार्दा उनीसहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पूर्व एसपी सिंहसहित महेश थापा, तर्क रावल, रामचन्द्र जोशी, छत्र थापा र अङ्ग ओली रहेका छन्।

कैलाली प्रहरीले जुवाखालबाट ३ गड्डी तास र नगद ८२ हजार ९४५ रुपैयाँसमेत बरामद गरेको छ। गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।