सुदिप थापा
धनगढी– सफलता एकैदिन प्राप्त हुँदैन । निरन्तर मेहनत, धैर्यता र सही निर्णयले मात्र सफलताको ढोका खोल्छ । डोटीको केआई सिंह गाउँपालिकाका गोपाल माझीको जीवनयात्रा यही यथार्थको जीवन्त उदाहरण हो । बुबाबाट सुरु भएको सानो व्यवसायलाई बहुआयामिक व्यापारमा रूपान्तरण गर्दै उनले आज स्थानीय बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
गोपाल माझीका बुबा करिब ३५ वर्षअघि डोटीको पिपल्ला पुगेका थिए । त्यतिबेला रोजगारीका अवसर सीमित थिए र व्यापार गर्न आवश्यक पूँजी तथा पूर्वाधारको अभाव थियो । यिनै चुनौतीका बीच उनले सानो खुद्रा पसल सञ्चालन गरेर परिवारको जीविकोपार्जन सुरु गरे । पसल सानो भए पनि इमान्दारी, ग्राहकप्रतिको व्यवहार र निरन्तरताले व्यवसाय टिकाइराख्न सहयोग ग¥यो । यही वातावरणमा हुर्किएका गोपाल माझीले सानैदेखि व्यापारको महत्त्व, ग्राहकसँगको सम्बन्ध र परिश्रमको मूल्य बुझ्ने अवसर पाए ।

२०५१ सालमा एसएलसी उत्तीर्ण गरेपछि गोपाल माझीले नयाँ सोचका साथ कपडा व्यापार सुरु गरे । त्यस समय ग्रामीण क्षेत्रमा कपडाको व्यापार चुनौतीपूर्ण मानिन्थ्यो, तर उनले स्थानीय आवश्यकता बुझेर व्यापार अगाडि बढाए । गुणस्तरीय सामान, उचित मूल्य र विश्वासिलो सेवा उनका मुख्य आधार बने । समयसँगै ग्राहकको विश्वास बढ्दै गयो र व्यापार विस्तार हुन थाल्यो ।
कपडा व्यापारले स्थिरता पाएपछि गोपाल माझी त्यहीँ सीमित रहेनन् । बजारको आवश्यकता र सम्भावनालाई बुझ्दै उनले हार्डवेयर व्यवसायतर्फ पाइला चाल्न थाले । घर निर्माण तथा मर्मतसम्भारका सामग्रीको माग बढ्दै गइरहेको अवस्थामा उनले रंगरोगन सामग्री, निर्माण सामाग्री लगायतका सामान उपलब्ध गराउन थाले । यसले उनको व्यवसायलाई थप मजबुत बनायो ।

व्यवसायको सुरुवाती चरणमा ‘नरियाल बस्त्रालय’ नामबाट चिनिएको पसल पछि देवताको नामबाट ‘बड्डा सप्लायर्स’ राखियो । समयसँगै बड्डा सप्लायर्स राजपुर क्षेत्रमै प्रख्यात नाम बन्न पुग्यो । सुरुमा हार्डवेयर सामग्रीमा मात्र केन्द्रित व्यवसाय ग्राहकको बढ्दो मागसँगै विस्तार हुँदै गयो । घर सजावटका लागि आवश्यक अन्य सामग्रीको खोजी गर्दै आएका ग्राहकलाई सहज सेवा दिन उनले फर्निचर व्यवसाय पनि थपे ।
आज बड्डा सप्लायर्सले घरका लागि आवश्यक फर्निचर, कार्यालय प्रयोजनका कुर्सी, दराज, कार्पेट, पर्दा लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । एउटै स्थानमा घर निर्माणदेखि सजावटसम्मका सामग्री पाउने सुविधा मिल्दा ग्राहकको आकर्षण झनै बढेको छ । गोपाल माझीका अनुसार, ग्राहकको आवश्यकतालाई बुझेर सेवा विस्तार गर्नु नै सफल व्यवसायको मुख्य सूत्र हो ।

गोपाल माझीको सफलतामा पारिवारिक सहयोग, इमान्दार श्रम र दीर्घकालीन सोचको ठूलो भूमिका रहेको छ । उनले कहिल्यै पनि छिटो नाफाको पछि नलागी व्यवसायलाई दिगो बनाउने लक्ष्य राखे । बजारमा आउने उतारचढाव, आर्थिक चुनौती र प्रतिस्पर्धाका बीच पनि उनले धैर्यतापूर्वक आफ्नो बाटो तय गरे ।
आज गोपाल माझी केवल व्यापारी मात्र होइनन्, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने व्यक्ति पनि बनेका छन् । उनका व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिएको छ । उनले आफ्नो सफलताको श्रेय बुबाबाट सिकेको इमान्दारिता, परिवारको साथ र ग्राहकको विश्वासलाई दिन्छन् ।
गोपाल माझीको कथा ग्रामीण क्षेत्रमै बसेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो । सानो खुद्रा पसलबाट सुरु भएको यात्रा आज बहुआयामिक व्यवसायसम्म आइपुगेको छ । उनको संघर्ष, निरन्तरता र व्यवसायिक दृष्टिकोणले नयाँ पुस्तालाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
