शनिबार, बैशाख १२, २०८३

सडक दुर्घटना न्यूनीकरणमा जोडः एक्सिस विद्या आश्रममा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम

 

धनगढी –

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढीस्थित एक्सिस विद्या आश्रममा सवारी चालक, सहचालक तथा विद्यार्थीहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्र बहादुर देउवाले सवारी चालक र विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराएका थिए। उनले धनगढीमा लागू गरिएको लेन अनुशासन, सवारी गति नियन्त्रण, जेब्रा क्रसिङको प्रयोग, ट्राफिक संकेत चिन्हको पालना, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मोबाइल प्रयोग गर्दै सवारी नचलाउने, मदिरा सेवन गरी सवारी चलाउँदा हुने कानुनी कारबाही तथा सम्भावित दुर्घटनाका जोखिमबारे सचेत गराएका थिए।

प्रहरी निरीक्षक देउवाले विद्यालय तहबाटै ट्राफिक सचेतना फैलाउन सके दुर्घटना न्यूनीकरणमा ठोस योगदान पुग्ने उल्लेख गर्दै ट्राफिक नियमको पालना सबैको साझा दायित्व भएको बताए।

कार्यक्रममा एक्सिस विद्या आश्रमका शिक्षक पारख खत्रीले दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी विद्यालयका चालक, सहचालक र विद्यार्थीहरूलाई ट्राफिक नियमबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी पनि दिए।

उक्त कार्यक्रममा विद्यालयका चालक, सहचालक तथा विद्यार्थी गरी ६५ जनाको सहभागिता रहेको थियो।