सोमवार, बैशाख ७, २०८३

धनगढी सेकुवा एण्ड मार्सी खाना घर सञ्चालनमा, युवाद्वारा स्वदेशमै स्वरोजगारको प्रयास

धनगढी – धनगढीका अर्जुन भुसालले स्वदेशमै केही गरौं भन्ने उद्देश्यसहित सोमबार धनगढीको चौराहामा ‘धनगढी सेकुवा एण्ड मार्सी खाना घर’ सञ्चालनमा ल्याएका छन्।

भुसाल धनगढीमै बसोबास गर्ने युवा हुन्। उनका परिवारका सदस्यहरू लामो समयदेखि जापानमा बसोबास गर्दै आए पनि उनले भने स्वदेशमै बसेर केही गर्ने सोचका साथ होटल व्यवसाय सुरु गरेको बताएका छन्। पछिल्लो समय युवाहरू विदेशिने क्रम बढ्दै गएको अवस्थामा आफूले यहीँ स्वरोजगार बन्ने र केही नयाँ परिकारको स्वाद दिने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए।

खाना घरको उद्घाटन एक समारोहका बीच धनगढी चौराहामा सम्पन्न भएको थियो। कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले धनगढीमा नयाँ कन्सेप्टको होटल व्यवसाय सञ्चालनमा आएको बताउँदै शुभकामना व्यक्त गरे। उनले व्यवसायीहरूको हकहितका लागि संघ सधैं सक्रिय रहेको उल्लेख गर्दै यहाँ उपलब्ध ‘मार्सी चामल’का परिकारको स्वाद चाख्न सबैलाई आग्रह गरे।

उक्त कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्दको समेत सहभागिता रहेको थियो।

खाना घरमा मार्सी थकाली खाना, सेकुवा, स्प्रिङ रोल, स्यान्डविच, मःम, बर्गर, बिरयानी, तन्दुरी चिकेन, कबाब, नान रोटी तथा भेज सेकुवा लगायतका परिकार उपलब्ध रहेको सञ्चालकले जानकारी दिएका छन्।

स्थानीय युवाले आफ्नै ठाउँमा व्यवसाय सुरु गर्नु सकारात्मक संकेत हो। यस्तो पहलले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनुका साथै नयाँ स्वाद र सेवा मार्फत बजारमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।