धनगढी –
सवारी दुर्घटनाका कारण विशेषगरी विद्यालय जाने–आउने क्रममा विद्यार्थीहरू जोखिममा पर्न थालेको अवस्थालाई गम्भीर रूपमा लिएर ट्राफिक प्रहरीले “विद्यालय सुरक्षा कार्यक्रम” लाई प्राथमिकताका साथ अघि बढाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा कैलालीको ऐश्वर्य विद्या निकेतन र एक्सिस विद्याश्रम तथा कञ्चनपुरको लिटल बुद्ध एकेडेमी र इन्टरनेशनल पब्लिक स्कुलमा प्रत्यक्ष पुगेर विद्यार्थी, शिक्षक तथा विद्यालयका सवारी चालकहरूलाई लक्षित गरी प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा विद्यार्थी बोक्ने सवारी चालकहरूलाई सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको कडाइका साथ पालना, तथा सवारी दुर्घटना न्यूनीकरणमा चालकको जिम्मेवारीबारे विस्तृत जानकारी दिइएको थियो। साथै विद्यार्थीहरूलाई सडक पार गर्ने तरिका, सुरक्षित यात्रा र ट्राफिक संकेतबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा चालक र विद्यार्थी गरी १५० जनाको सहभागिता रहेको थियो।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी टेकजोराले भने,
“विद्यार्थीको ज्यान अमूल्य छ। सानो लापरबाहीले ठूला दुर्घटना निम्त्याउन सक्छ। त्यसैले विद्यालयसँग सम्बन्धित सवारी साधन चलाउने चालकहरू अझै बढी जिम्मेवार हुनुपर्छ। दुर्घटना न्यूनीकरण प्रहरीको मात्र दायित्व होइन, चालक, विद्यालय र अभिभावक सबैको साझा जिम्मेवारी हो।”
उनले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको वार्षिक कार्ययोजना अनुसार विद्यालय सुरक्षा कार्यक्रम सुदूरपश्चिम प्रदेशभर निरन्तर सञ्चालन गरिने समेत स्पष्ट पारे।
कार्यक्रमले विद्यार्थीमा सडक सुरक्षासम्बन्धी चेतना बढाउनुका साथै चालकहरूलाई सुरक्षित र जिम्मेवार सवारी सञ्चालनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
