बझाङ– दुर्गम जिल्लामा सीमित स्रोतसाधनका बीच पनि निरन्तर समाजसेवामा सक्रिय रहनु आफैंमा चुनौतीपूर्ण काम हो । बभाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का विष्णु अयडी त्यस्तै एक उदाहरण हुन्, जो सानो राहत भए पनि सेवाको भावनाले समाजका अप्ठ्यारा परिस्थितिमा परेका वर्गलाई निरन्तर साथ दिँदै आइरहेका छन् ।
कोभिड–१९ महामारीका कठिन दिनमा अयडीले करिब ५ देखि ६ लाख रुपैयाँ बराबरको औषधि, अक्सिजन सिलिन्डर तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका थिए । महामारीको त्रास र अभावका बीच उनको सहयोगले धेरै नागरिकलाई राहत मिलेको स्थानीय बताउँछन् ।
त्यसैगरी, भूकम्पका कारण मानवीय क्षति नभए पनि बझाङका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेपछि उनले मष्टा, थलारा र छविसपाथिभेरा गाउँपालिकामा गरी ३१ वटा टहरा निर्माणका लागि सहयोग गरेका थिए । विपद्को समयमा पीडितको छानोको चिन्ता कम गर्नु उनको मुख्य उद्देश्य रहेको अयडीको भनाइ छ ।
शिक्षा क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ । तीन वर्षअघि सैपाल गाउँपालिकाका ५ वटा वडामा करिब एक हजार एक सय विद्यार्थीलाई कापी–कलम वितरण गरिएको थियो । हालै मात्र छविसपाथिभेरा गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका ९ सय २० विद्यार्थीलाई दुई वटा कापी र दुई वटा कलम वितरण गरिएको छ । दुर्गम क्षेत्रका विद्यार्थीलाई पढाइप्रति प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको उनले बताए ।

अयडीका अनुसार बझाङ जिल्लामा सरकारी विद्यालयहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । विद्यालय भवन भए पनि विद्यार्थी संख्या न्यून हुँदै गएको छ भने कतिपय विद्यालयमा विद्यार्थी नै छैनन् । दुर्गम क्षेत्रमा नयाँ विद्यार्थी भर्ना गराउन समस्या भइरहेको यथार्थप्रति उनले चिन्ता व्यक्त गरे ।
कापी–कलम सहयोग शम्भु दाहालमार्फत प्राप्त भएको जनाउँदै अयडीले आर्थिक अभाव हुँदाहुँदै पनि साथीभाइको सहयोगमा समाजसेवा निरन्तर जारी रहेको बताए । ‘राजनीतिसँगै समाजसेवा मेरो दायित्व हो,’ उनले भने, ‘नेपाली काँग्रेसमा आबद्ध भए पनि पार्टीभन्दा माथि उठेर मानव सेवामा लागिरहेको छु ।’
उनका अनुसार आफ्ना नेताहरूका असल अभ्यासलाई स्वीकार गर्दै गलत अभ्यासविरुद्ध खबरदारी गर्नु नै सच्चा राजनीतिक चेतना हो । सानो राहत भए पनि निरन्तर सेवा नै समाज परिवर्तनको आधार हो भन्ने सन्देश विष्णु अयडीको समाजसेवाले स्पष्ट रूपमा देखाएको छ ।

