शनिबार, बैशाख १२, २०८३

सुदूरपश्चिम महोत्सव २०८२ : भीड, मनोरञ्जन र सुरक्षाको उत्कृष्ट संयोजन

धनगढी– धनगढीमा सञ्चालनमा रहेको सुदूरपश्चिम महोत्सव २०८२ मा १२औँ दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह कम भएको छैन। महोत्सव परिसर दैनिक रूपमा दर्शकको भिडले खचाखच भरिँदै आएको छ। विशेष गरी रमाइलो मेला क्षेत्रअन्तर्गत चर्खा, ब्रेक डान्स तथा बालबालिकाका लागि राखिएका खेल सामग्रीमा अत्यधिक भीड देखिएको छ।

स्थानीय कला, संस्कृति, व्यापार र मनोरञ्जनलाई एकै ठाउँमा समेटिएको यस महोत्सवप्रति दर्शकको आकर्षण दिनानुदिन बढ्दै गएको आयोजकले जनाएको छ। परिवारसहित महोत्सव अवलोकन गर्न आउनेको संख्या उल्लेख्य रहेको छ भने साँझपख महोत्सव परिसर झनै चहलपहलयुक्त बन्ने गरेको छ।

यसैबीच, महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय तथा सम्बन्धित सुरक्षाकर्मीहरूको सक्रिय उपस्थितिमा महोत्सव सञ्चालन भइरहेको छ। आयोजक उद्योग वाणिज्य संघ कैलाली का अनुसार सुरक्षाका लागि निजी क्षेत्रका सेक्युरिटी गार्डको समेत व्यवस्था गरिएको छ।

हाल वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेको प्रत्यक्ष निगरानीमा महोत्सवको सुरक्षा व्यवस्थापन भइरहेको छ। प्रवेशद्वारदेखि महोत्सवको भित्री क्षेत्रसम्म सुरक्षाकर्मी परिचालन गरिएकाले कुनै पनि अप्रिय घटना हुन नदिने गरी सुरक्षा मजबुत बनाइएको प्रहरीले जनाएको छ।

स्थानीय दर्शकहरूका अनुसार प्रहरीले प्रदान गरेको प्रभावकारी सुरक्षाका कारण ढुक्क भएर परिवारसहित महोत्सव अवलोकन गर्न सहज भएको छ। सुरक्षासँगै मनोरञ्जन र व्यापारको संगम बनेको सुदूरपश्चिम महोत्सवले धनगढीको चहलपहल बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ।