आइतवार, बैशाख १३, २०८३

सुदूरपश्चिम महोत्सवमा बझाङका रैथाने बालीको चमक, जयपृथ्वी–५ का कृषक दिपक सिंहले चिनाउँदै बझाङ

 

धनगढी । सुदूरपश्चिम महोत्सवमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–५ बाट आएका कृषक दिपक सिंहले बझाङमा उत्पादन हुने रैथाने खाद्य बालीहरू लिएर सहभागिता जनाएका छन्। महोत्सवमा बझाङमै उत्पादन भएका अर्गानिक बालीहरूको प्रदर्शनी तथा बिक्री गर्दै आएका सिंहले बझाङका उत्पादनलाई अन्य जिल्लासम्म चिनाउने उद्देश्य रहेको बताएका छन्।

सिंहले बझाङमा उत्पादन हुने जिमु, गहत, मास, बझाङको चर्चित चोतो लगायतका खाद्य सामग्रीहरू महोत्सवमा ल्याएर बिक्री गरिरहेका छन्। “गत वर्ष पनि हामी महोत्सवमा आएका थियौँ, यसपालि पनि सोही उद्देश्यका साथ आएका हौँ,” उनले भने, “हाम्रो लक्ष्य तत्काल नाफा कमाउनु होइन, बझाङका अर्गानिक उत्पादनको प्रचार–प्रसार गर्नु हो।”

उनका अनुसार बझाङबाट पानी घट्टमा पिसिएको कोदोको पिठो समेत महोत्सवमा ल्याइएको छ, जसको आफ्नै स्वाद र विशेषता रहेको छ। त्यसैगरी बझाङको गहत र गुराउस औषधीय गुणयुक्त मानिने भएकाले यसको माग बढ्दो क्रममा रहेको सिंहले बताए। चटनीका लागि प्रयोग हुने भागो पनि स्टलमा उपलब्ध रहेको उनले जानकारी दिए।

कृषि ज्ञान केन्द्र र जयपृथ्वी नगरपालिका बझाङको सहयोगमा धनगढी आइपुगेका सिंहले बजारको माग वर्षेनी बढ्दै गएको बताए। “गत वर्ष करिब ४० केजी मात्रै चोतो बिक्री भएको थियो, यसपालि २ क्विन्टलसम्म बिक्रीका लागि ल्याएका छौँ,” उनले भने।

बझाङका रैथाने बाली प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको भन्दै सिंहले सुदूरपश्चिम महोत्सव परिवारप्रति धन्यवाद व्यक्त गरेका छन्। महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म चिनाउने महत्वपूर्ण थलो बनेको उनको भनाइ छ।