शनिबार, बैशाख १२, २०८३

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, कैलाली र बझाङका एक-एकसहित पाँच जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ। यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ। ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ। सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन्।