इटहरी– सुनसरीको दुहवी नगरपालिका–३ मा पतिले पत्नीलाई पेट्रोल छर्केर आगो लगाएका छन्। ३३ बर्षिय पति मुस्तफा शेखले २८ बर्षिया पत्नी खुश्वु खातुनलाई आगो लगाएका हुन्। पीडितको अवस्था गम्भिर रहेको र उपचार जारी छ।
दुहबी–३ मुक्तिनाथ मन्दिर टोलमा बसोबास गर्ने दम्पत्तीबीच घरायसी विवाद चर्किँदै जाँदा शेखले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटना लगत्तै स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय दुहबीमा खबर गरेका थिए। सूचना पाएपछि साथ प्रहरी टोली घटनास्थलमा खटिएको र गम्भीर रूपमा घाइते भएकी खुस्बु खातुनलाई उपचारका लागि सामुदायिक अस्पताल दुहबीमा भर्ना गरिएको हो।
अस्पतालका चिकित्सकले पीडित महिलाको शरीरमा आगोले जलेर दुवै हात, घाँटी, छाती तथा अनुहारमा गम्भीर चोट लागेको जानकारी दिए।
भारतको बिहार माइती भएकी खुस्बुले दुहबीका शेखसँग डेढ वर्ष अगाडि विवाह गरेकी थिइन्। भारतमै रोजगारी गर्दै गरेका शेख शुक्रबार घर आएपछि विवाद चर्किएको थियो।
घटनापछि प्रहरीले आरोपी मुस्तफा सेखलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको छ।